पुस २१, काठमान्डौ । जावलाखेल युथ क्लबसँग बराबरी खेलेको च्यासल युथ क्लबले ए डिभिजन लिगमा ८ औं स्थान बनाउँदै यो सिजन अन्त्य गरेको छ ।
सशस्त्र प्रहरी बलको हलचोक मैदानमा भएको खेलमा जावालाखेल युथ क्लबसँग १—१ बराबरी खेलेको हो । जावलाखेलविरुद्ध १० औं मिनेटमा पछि परेको च्यासलका लागि छिरिङ गुरुङले गोल गर्दै पराजित हुनबाट जोगाएका थिए ।
३२ औं मिनेटमा जावलाखेलका खेलाडीले च्यासलका सनी बेञ्जनकारलाई पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले च्यासललाई पेनाल्टी दिएका थिए । त्यसअघि, जावलाखेलका अर्जु सिंहले हेडर गोल गर्दै च्यासलविरुद्ध अग्रता बनाएका थिए ।
अन्तिम खेलमा गोल थप्न नसक्दा च्यासलले जावलाखेलसँग अंक बाड्नुपर्यो । यो सँगै लिगमा च्यासलले १३ खेलबाट १६ अंकसहित आठौं स्थान बनाएको छ भने जावलाखेलले १३ खेलबाट १३ अँक जोडेको छ ।

