पुस १८, इलाम। इलाम नगरपालिकाले यही पुस २० गते गर्न लागेको लगानी सम्मेलनको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीको नागरिक अभिनन्दन गरिनेभएको छ ।
ओलीले राष्ट्र निर्माणका लागि नागरिकको हितमा गरेका कार्यको उचित कदर गर्दै नागरिक अभिनन्दन गर्न लागिएको नगरपालिकाका प्रवक्ता ठाकुर श्रेष्ठले जानकारी दिनुभयो । यसैबीच, लगानी सम्मेलनको तयारी तीव्र पारिएको छ । प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने सम्मेलनमा प्रस्तुत गरिने लगानीका क्षेत्र, सम्भावनालाई अन्तिम रूप दिन लागिएको नगरपालिकाका प्रमुख महेश बस्नेतले बताउनुभयो । नगरपालिकाले जिल्लामा उत्पादन हुने कृषि उत्पादन र कच्चा सामग्रीलाई जिल्लाभित्रै प्रशोधन गर्ने तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले लगानी सम्मेलन गर्न लागेको हो । आन्तरिक पुँजी परिचालन तथा निजी क्षेत्र र बाह्य लगानी आकर्षित गरी स्थानीय रोजगारी सिर्जना गर्न लगानी सम्मेलन गरेका हौँ, नगरप्रमुख बस्नेतले भन्नुभयो ।
विदेशिने श्रमशक्तिलाई जिल्लाको उत्पादनमा आत्मनिर्भर गराई औद्योगिक कोरिडोरका रूपमा इलामलाई आर्थिक समृद्धिको बाटोमा लैजाने मुख्य लक्ष्य छ । नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलाई लगानीका मुख्य क्षेत्रका रूपमा पहिचान गरेको छ । कृषितर्फ चिया, अदुवा, अलैँची, दूध, जडीबुटीलगायतका क्षेत्रमा दातालाई सम्भावना देखाइनेछ । लगानीकर्ताका लागि ठूला–साना उद्योगधन्दा स्थापना गराउन बाटो, बिजुली, व्यवसाय दर्ता, कर, कानुनी बाधा अड्चनजस्ता विषयमा सहुलियत र छुटको व्यवस्था गर्न नगरपालिका तयार रहेको जनाइएको छ । सम्मेलनमा बैङ्क, वित्तीय संस्था तथा बीमा कम्पनी, जलविद्युत् लगानीकर्ता, निजी विद्यालय सञ्चालक, उद्योगी– व्यवसायीलगायतको सहभागिता रहनेछ ।

