पुस १७, बागलुङ । समुन्द्री सतह देखि ६ हजार ३ सय ३२ फिटको उचाईमा रहेको बागलुङको गलकोट नगरपालिका ७ मल्मको पर्यटकीय स्थल राम्चेढुङ्गामा प्रथम पर्यटन मेला सम्पन्न भएको छ ।
यस क्षेत्रको समग्र कला, सँस्कृति, खेलकुद, पर्यटन र पञ्चेबाजा लगायतको जानकारी दिने उदेश्यले राम्चे ढुङ्गामा पहिलो पटक पर्यटन मेला आयोजना गरिएको गलकोट नगरपालिका वडा नं ७ का कार्यवाहक वडा अध्यक्ष लोकबहादुर थापाले जानकारी दिए । उनले यस क्षेत्रमा रहेका पर्यटकीय सम्भावना बोकेका ठाउँहरु मल्म राम्चेढुङ्गा, घुम्टे लगायतका क्षेत्रको विकास गर्न सम्भाव्यताको खोजी गरिनु पर्ने बताए । “पर्यटन प्रर्वद्धनको लागि मन बचन र कर्मले पर्यटन मैत्री बनौ” भन्ने मुल नारा सहित गत पुस १३ गतेदेखि शुरु भएको प्रथम पर्यटन मेलामा स्थानीय अर्गानिक खानाका परिकारहरुसँगै खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरु सञ्चालन गरिएको थियो । मेलामा मल्मको स्थानीय कला संस्कृति झल्कने मौलिक पञ्चेबाजा, सोरठी तथा पाण्डवखानीको सोरठी प्रदर्शन गरिएको थियो ।
पर्यटनको प्रचुर सम्भावना बोकेको राम्चे ढुङगाबाट गलकोट क्षेत्र सडकसँगै छिमेकी जिल्ला तथा मनोरम हिम शृङ्खलाहरु दृश्यावलोकन गर्न सकिन्छ । पर्यटकको सुविद्यालाई ध्यान दिंदै खानेपानी, शौचालय, पिकनिक स्पट तथा सडकको समेत सुविद्या रहेको छ । मेलामा कार्यक्रम सफल पार्न विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरिएको थियो । मेलामा अर्गानिक रुपमा उत्पादन भएका खानाका परिकारहरु मध्ये लोकल कुखुरा, खसीको मासु, सिस्नोको पाउडर, सिलाम, कालो काफल, पाखनबेत, टिमुर, सिलटिमुर, सिरम्ला मकै लगायत मुख्य आर्कषकको रुपमा रहेका थिए ।

