‘गणतन्त्र सुदृढीकरण गर्न राष्ट्रिय मेलमिलाप सार्थक’– मुख्यमन्त्री पौडेल

पुस १६, हेटौडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले राष्ट्रिय स्वतन्त्रताको सुरक्षा एवं बहुदलीय प्रजातन्त्रको पुनःस्थापनाका लागि बिपी कोइरालाले जोखिम मोलेर २०३३ पुस १६ गते स्वदेशमा आगमन हुँदा अहिले गणतन्त्रलाई सुदृढीकरण गर्न राष्ट्रिय मेलमिलाप दिवस सार्थक भएको बताउनुभएको छ ।

उहाँले ४९औँ राष्ट्रिय मेलमिलाप दिवसका उपलक्ष्यमा नेपाली काङ्ग्रेस मकवानपुरद्वारा आज हेटौँडामा आयोजित एक स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारले प्रतिपक्षी दल नेपाली काङ्ग्रेससँग सहकार्य गरेर जनतालाई आर्थिक समृद्धितर्फ आत्मनिर्भर तुल्याउन प्रदेशका सबै जिल्लामा बजेट, प्राविधिक खटिसकेको र त्यसको तत्काल अनुगमन गरिने बताउनुभएको छ । सो अवसरमा प्रदेशसभामा प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका नेता इन्द्रबहादुर बानियाँले काङ्ग्रेसको नेतृत्वमा वर्तमान संविधान जारी गरिएको भएपनि वर्तमान सरकारको दम्भले मुलुकमा केही समूह विखण्डनका लागि तयार रहेको उल्लेख गर्नुहुँदै बिपीले प्रतिपादन गर्नुभएको राष्ट्रिय मेलमिलापबाट राष्ट्रको सार्वभौमको रक्षा र प्रजातन्त्रको सुदृढीकरणका लागि सबै दल एकजुट हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा विभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुख, मकवानपुरका प्रजिअ आस्मान तामाङ, प्रहरी उपरीक्षक बुद्धिबहादुर गुरुङ, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी र काङ्ग्रेसका कार्यकर्ता सहभागी हुनुहुन्थ्यो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.