१३ कर्मचारीविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

पुस ११, काठमाडौं । जिल्ला कृषि विकास कार्यालय दैलेखका वरिष्ठ कृषि विकास अधिकृत नरहरिप्रसाद घिमिरेसहित १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिउबिजन खरिद कार्यमा अनियमितता गरेको अभियोगमा घिमिरेसहित १३ जनामाथि मङ्गलबार आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएकामध्ये ताजा तरकारी उत्पादन समूह दैलेखका अध्यक्ष प्रेमबहादुर शाही समेत रहनुभएको छ । ठेकेदारसँग मिलेमतो गरी खरिद नै नगरेको कृषि सामग्रीको भुक्तानी कार्यालय प्रमुख घिमिरे र कर्मचारीहरूले गरेको अख्तियारले अभियोग लगाएको छ । यस्तै, प्राप्त नभएका सामान आम्दानी बाँधी खर्च देखाएको पनि अभियोगमा उल्लेख गरिएको छ । अख्तियारले कार्यालय प्रमुख घिमिरेसँग दश लाख ५० हजार ९६१ रुपियाँ बिगो दाबी गरेको छ । यस्तै, वागवानी विकास अधिकृत सूर्यनाथ योगीसँग १८ लाख ३६ हजार चार रुपियाँ बिगो दाबी गरको छ । कृषि प्रसार अधिकृत नरेन्द्र थापासँग दश लाख तीन हजार २६३ रुपियाँ, लेखा अधिकृत ढालबहादुर हमालसँग १२ लाख ४६ हजार ४८१, प्राविधिक सहायक गमानसिंह थापासँग दुई लाख २४ हजार ४३१, वागवानी विकास अधिकृत भुवनबहादुर मल्लसँग ७३ हजार ८० रुपियाँ बिगो दाबी गरेको छ ।

यस्तै, मुद्दा चलाइएका नायब सुब्बा नमराज थापासँग आठ लाख १२ हजार १७८, लेखापाल रामकुमार शाहसँग १६ लाख ९१ हजार ७१७, प्राविधिक सहायक मिमबहादुर शाहीसँग एक लाख ७५ हजार ७१७ रुपियाँ बिगो दाबी अख्तियारले गरेको छ ।  नायब प्राविधिक सहायक रगबहादुर बपालसँग ३९ हजार ४५० रुपियाँ, प्राविधिक सहायक पूर्णबहादुर थापासँग तीन लाख ४८ हजार ५५०, सबइन्जिनियर रामप्रसाद शर्मासँग दश लाख २७ हजार ४०२ रुपियाँ बिगो दाबी अख्तियारले गरेको छ । यस्तै, ताजा तरकारी उत्पादन समूह दैलेखका अध्यक्ष प्रेम बहादुर शाहीसँग अख्तियारले २२ हजार रुपियाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.