पशुपति क्षेत्रमा पाकेटमारको बिगबिगी

पुस ८, काठमाडौं । पशुपति क्षेत्रमा पाकेटमारको अचाक्ली बिगबिगी छ । मन्दिरमा दर्शन गर्न आएका भक्तजनको पाकेट मारेर फ्याँकिएका पर्सका अन्य कागजातले पशुपति प्रहरी पोष्टको सूचना पाटी भरिभराउ छ । पशुपति क्षेत्रको यो प्रहरी पोष्टमा सातामा चारवटासम्म पर्सबाट फ्याँकिएका कागजात आइपुग्ने गरेको छ ।

गौशाला प्रहरी प्रभाग प्रमुख सुनिल मल्लका अनुसार कुनै यस्ता कागजात प्रहरीले फेला पारेर ल्याए भने कुनै पशुपति क्षेत्र विकास कोषका सुरक्षाकर्मीले ल्याएर पोष्टमा बुझाउँछन् । पोष्टका प्रहरी भीमसेन तिमिल्सिनाका अनुसार सातामा कम्तीमा चारवटा महत्वपूर्ण कागजात फेला पर्न थालेका छन् । पाकेटमारले पाकेट मारेपछि पैसा वा नोटबाहेक पर्सबाट काम नलाग्ने भनी फ्याँकिएका कागज सङ्कलन गरिएको हो ।
तिमिल्सिनाका अनुसार प्राप्त भएका कागजातलाई प्रहरी प्रभाग गौशालामा सङ्कलन गरेर बुझाइने गरिएको छ । प्रभाग प्रमुख मल्लका अनुसार उपत्यकामा नै पाकेटमारीको ठूलो समस्या छ । प्रहरीले साँझ, बिहान र दिउँसो गरी तीनै समय पाकेटमारको निगरानी गरिरहेको छ । प्रभागले १३जनाविरुद्ध पाकेटमारीको आरोपमा अदालतमा मुद्दा पनि चलाइरहेको उहाँले जानकारी दिनुभयो ।

पशुपतिमा भने सीसीटीभीमा देखिएका पाकेटमारलाई सहजै पक्राउ गरिएको मल्ल बताउनुहुन्छ । महानगरीय अपराध महाशाखाले हालै मात्र चक्रपथका वसमा पाकेट मार्ने ७७ जनालाई पाकेटमारको अभियोगमा पक्राउ गरिसकेको छ तर पशुपति लगायतका देवस्थलमा भने पाकेटमारको चहलपहल निकै बढिरहेको अनुभव गरिएको छ । सोलुखुम्वु वासाकी समित्रा थापा, कास्की भरतपोखरीकी रमा लामिछाने, स्याङ्गजा पुतलीबजारका पूर्णबहादुर लामिछाने, अर्घाखाँची धनचौरकी विनकला नेपाली, अग्लुङ् गुल्मीका खिमबहादुर चन्द र त्रिचन्द्र कलेजकी शान्ति लामाको नागरिकताको सक्कल र परिचयपत्र पशुपति प्रहरी पोष्टमा राखिएका छन् ।

कतिपयले पोष्टमा सम्पर्क गरेर यस्ता कागजात लैजाने गरेको बताउँदै प्रहरी भिमसेन लामिछानेले सातासम्म लिन नआए प्रभागमा बुझाउने गरेको बताउनुहुन्छ । प्रहरी पोष्ट, सशस्त्र प्रहरी, कोषको आफ्नै सुरक्षादस्ता र निजी स्तरमा राखिएका सुरक्षा युनिटले पशुपति क्षेत्र घेरिएको छ, तापनि पाकेटमारीबाट यो क्षेत्र मुक्त किन हुन नसकेको भन्दै पशुपतिनाथका कोटवाल पूर्णनारायण जोशी प्रश्न गर्नुहुन्छ,‘पवित्र पशुपति कहिले पाकेटमारबाट मुक्त हुने ?’ –गोरखापत्र

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.