पुस ७, काठमाडौँ । तारकेश्वर नगरपालिकाले गर्भवती महिलालाई निःशुल्क आइरन र क्याल्सियम चक्की दिएको छ ।
गर्भवती महिलाको स्वास्थ्य उपचारमा पहुँच पु¥याउन यस वर्षदेखि नगरपालिकाले निःशुल्क क्याल्सियम र आइरन चक्की दिने व्यवस्था गरेको हो । तारकेश्वर नगरपालिकाको ११ वटै वडाको स्वास्थ्यचौकीबाट निःशुल्क आइरन र क्याल्सियम चक्की वितरण गरिएको नगर स्वास्थ्य शाखाका प्रमुख अरुणकुमार गिरीले बताउनुभयो ।
निःशुल्क आइरन र क्याल्सियम दिने व्यवस्था भए पछि अशिक्षा र अन्धविश्वासले गर्भ जाँच नगरी घरमै बस्ने गर्भवती पनि नियमित स्वास्थ्य जाँच गराउन स्वास्थ्यचौकी आउने गरेको प्रमुख गिरीले बताउनुभयो । यस अभियानबाट अहिलेसम्म नगरपालिकाको ११ वटै वडाबाट ३०० गर्भवती लाभान्वित भइसकेका छन् ।
चार पटक नियमित रुपमा परीक्षणका लागि आउने गर्भवतीलाई हरेक पटक रु १०० समेत दिइने गरिएको छ । त्यस्तै सुत्केरी हुन स्वास्थ्य चौकीमा आउने महिलालाई यातायात खर्च स्वरुप रु २ हजार दिनेव्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

