पुस ७, काठमाडौं । ललितपुरको लाकुरीभञ्ज्याङ्गस्थित प्रहरी प्रभागमा भर्खरै गोली चलेको छ । गोली लागेर एक जना घाइते भएको जनाइएको छ ।
घाइते हुनेमा प्रहरी जवान रोशन श्रेष्ठ छन् । काठमाडौं विपद व्यवस्थापनमा कार्यरत उनी लाकुरीभञ्ज्याङ्ग प्रहरी प्रभागका इञ्जार्ज असई रमेश तामाङलाई भेट्न आएका थिए । उनीहरु गृह जिल्ला दोलखाका साथी हुन् । घाइते प्रहरी जवान श्रेष्ठको मेट्रो प्रहरी अस्पतालमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको ललितपुर प्रहरी परिसरका एसपी शेखर खनालले जानकारी दिएका छन् । असई तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी रहेको जनाएको छ ।
कार्यालयभित्रकै बेडरुममा बसिरहेको बेला तामाङको पेस्तोलको म्यागजिन अनलोड गर्ने क्रममा पेस्तोल पड्किएर श्रेष्ठको गालामा लागेको समाचार स्रोतले जानकारी दिएको छ । तामाङलाई नियन्त्रणमा लिएर सातदोबाटो प्रहरीले अनुसन्धान शुरु गरेको जनाइएको छ । अनुसन्धानका लागि सातदोबाटोस्थित प्रहरी कार्यालयका डीएसपी गौतम मिश्रको कमाण्डमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

