पुस ७, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि दाबेदार टोलीका रुपमा हेरिएको थ्रीस्टार क्लबले शनिबार च्यासल युुथ क्लबसँगको खेलमा नतिजा खोस्दै शीर्ष स्थानमा रहेको मनाङ—मस्र्याङ्दीसँगको दुरी घटाउने रणनीतिमा रहेको छ ।
सशस्त्र प्रहरी बलको हल्चोक मैदानमा बिहान ११ बजे हुने पहिलो खेलमा यसअघिका ९ खेलमा ७ जित एक बराबरी र एक पराजय भोगेको थ्रीस्टार क्लबले समान ९ खेलमै ४ जित एक बराबरी र ४ खेलमा हार बेहोरेको च्यासलसँग प्रतिस्पर्धा गर्दैछ । २७ अंक सहित शीर्ष स्थानमा रहेको मनाङभन्दा ५ अंकले पछाडि रहेको थ्रीस्टार क्लब नवप्रवेशी च्यास युुथ क्लबका मुुख्य दुुई खेलाडी सन्तोष साउखल र बिमल घर्ती मगर टिममा नभएको अवसर सदुपयोग गर्दैै नतिजा आफ्नो पक्षमा पार्ने योजनामा छ । च्यासलले यसअघिका ९ खेलमा १३ अंक बटुल्न सफल भएको छ ।
आजै दिउँसो सशस्त्र मैदानमै हुने अर्को खेलमा सिएमजी संकटा क्लब र ब्रिगेड व्वाइज क्बल (बीबीसी) ले प्रतिस्पर्धा गर्दैछन् । २४ अंकसहित अंक तालिकामा बलियो देखिएको संकटा आफ्नौ नवौं जितको खोजिमा हुनेछ भने बीबीसी आफ्नो दोस्रो जितको खोजिमा हुनेछ । शीर्ष स्थानमा रहेको मनाङलाई पछ्याइरहेको संकटा ९ खेलमा ८ जित निकाल्दै २४ अंक बनाएको हो भने बीबीसीले ९ खेलमा १ जित र २ बराबरी र ६ हार बेहोरेको छ । अंक तालिकामा कमजोर देखिएको बीबीसीमाथि सहज जितको खोजिमा संकटा हुनेछ ।

