पुस ६, हेटौँडा । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले नेपालको ६६ प्रतिशत जनता कृषि पेशामा निर्भर रहेकाले उनीहरुको हक र अधिकार संरक्षणका लागि वर्तमान सरकार लागिपरेको बताएका छन् ।
मकवानपुर कुखुरा व्यवसायी सङ्घ हेटौँडाको तेस्रो अधिवेशन तथा १२औँ साधारणसभाको शुक्रबार एक समारोहबीच उद्घाटन गर्दै मुलुकमा कूल जग्गामध्ये २३ प्रतिशत जमीनमा खेती हुने गरेको र त्यसमध्ये ३८ प्रतिशत जमिन बाँझो रहेकोले कृषि पेशामा आकर्षण बढाउन सरकार गम्भीर छलफलमा लागेको बताए । मन्त्री खनालले बेरोजगारी समस्या समाधानका लागि कृषि पेशालाई उच्च प्राथमिकतामा राखेको र प्रविधियुक्त आधुनिक प्रविधिद्वारा खेती गरिएमा खाडीमुलुकमा जाने बेरोजगार युवा स्वदेशमा काम पाउने र देशको आर्थिक विकासमा मद्दत पुग्ने विचार व्यक्त गरे ।
बैंकले किसानलाई ऋण दिएबापत लिँदै आएको १० प्रतिशतको व्याजलाई ३ प्रतिशतमा झार्न विशेष छलफल मन्त्रालयस्तरमा भइरहेको बताउँदै उनले जमीनको प्लटिङ एवं खण्डीकरण रोक्न विभिन्न कार्यक्रम सञ्चालन भएको कृषि उत्पादनका लागि बीउविजन र मलमा अनुदान सरकारले दिइएको अधिराज्यव्यापी १३ वटा कोल्ड स्टोर अनुदानमा निर्माण भइरहेको जानकारी दिए । भारतलगायत तेस्रो मुलुकबाट नेपालजस्तो कृषिमा निर्भर मुलुकले चामललगायत माछा, मासु, तरकारी, फलफूल आयात गर्नु दुःखद् भएकाले कृषि क्षेत्रलाई व्यवसायीकरण र किसानलाई आत्मनिर्भर बनाउनु आवश्यक रहेको छ उनले भने । – रासस

