पुस ६, नयाँ दिल्ली । यो साता केही चर्चित नेताको नाममा आउने गुगल सर्च नतिजाले भारत, अमेरिका र पाकिस्तानमा निकै चर्चा पाएको छ ।
ट्वीटर र फेसबुकका सयौं प्रयोगकर्ताले गुगलमा ‘इडियट’ सर्च गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ‘भिखारी’ सर्च गर्दा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको नाम आएको जनाएका छन् । यस्तै खालको पोष्ट भारतमा पनि गएको बुधबार देखि चर्चित भयो । धेरै मानिसले के दाबी गरेभने गुगलमा ‘बार गर्ल इन इण्डिया’ वा ‘इटालियन बार गर्ल’ सर्च गर्दा कांग्रेस अध्यक्ष राहुल गान्धीकी आमा सोनिया गान्धीलाई देखाएको थियो । यस्तो नतिजा गुगल सर्च इन्जिनमा मात्रै होइन बिंग सर्च इन्जिनमा पनि आएको थियो । गुगल ट्रेन्डसमा १९ डिसेम्बरका दिन बार गर्ल इन इण्डियाको नाममा सर्च भएको पाइएको थियो । यसरी सर्च गर्नेमा उत्तराखण्ड, झारखण्ड, छत्तीसगढ,राजस्थान र उत्तर प्रदेशका मानिस अत्यधिक सहभागी थिए ।
धेरैजसो सामाजिक सन्जाल प्रयोगकर्ताले बार गर्ल इन इण्डिया भन्दा कसरी सोनिया गान्धीको नतिजा आयो भनेर सोधे । अमेरिकी राष्ट्रपति ट्रम्पका बारेमा गुगलले जवाफ नै दिनुपरेको छ । गुगलका अधिकारीहरुका अनुसार जुन शब्दमा जोडेर प्रयोगकर्ताले कोही नेताको नाम सर्च गर्छन् यसको असर सर्चको नतिजामा पनि पर्ने गर्छ । भारतमा पाँच राज्यको विधान सभा चुनावको नतिजा आएपछि सोनिया गान्धीको खिलाफमा सामाजिक सन्जालमा एक अभियान नै चलाइएको थियो । केही समूहले सामाजिक सन्जालमा सोनिया राजीव गान्धीसँग विवाह गरेर भारत आउनु अघि इटालीमा बार डान्सर रहेको आरोप लगाएका थिए ।
केही फेसबुक प्रयोगकर्ताले तस्बिर समेत राखेका थिए र इटालियन बार गर्ल इन इण्डिया सर्च गर्न आग्रह पनि गरिएको थियो । इन्टरनेटको जानकारी राख्नेको भनाई के रहेको छ भने आरोप पुष्टि गर्नका लागि कसैले सोनिया गान्धीको नामका साथ बार, इण्डिया, गर्ल वा इटालियन शब्दको प्रयोग गरेको हुनुपर्छ । यसैका कारण सोनिया गान्धीको नाम त्यस्तोमा आएको हो । सोनियाका केही गलत तस्बीर राखेर उनका पुत्र राहुलको बारेमा पनि नानाथरी टिप्पणी गरिएको थियो । तर, स्वतन्त्र छानबिन गर्दा सोनियाको तस्बिर गलत हिसाबले प्रयोग गरिएको पुष्टि भएको थियो ।– (बीबीसीबाट)

