पुस ५, काठमाडौं । अपराध न्युनिकरण गर्ने उद्देश्यले नेपाल प्रहरीले गाडीभित्रै १६ वटा सुविधा भएको अत्यधुनिक ‘मोबाइल फरेन्सिक भ्यान’ भित्र्याएको छ ।
प्रहरीले भित्र्याएको फोर्स कम्पनीको भ्यानको मूल्य ९६ लाख रुपैयाँ हो भने त्यसभित्र ४५ लाखको यन्त्र जडान गरिएको छ ।
अपराध भएको स्थानमा तत्काल पुगेर पुगेर सुक्ष्म अनुसन्धान र प्रमाण सुरक्षित गर्न भ्यान भित्र्याइएको प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले बताए । ‘‘एक भ्यान पहिलोपटक भित्र्याएका छौं । पहिलो चरणमा अपराध महाशाखाले यसको प्रयोग गर्नेछ । विस्तारै देशभर वा प्रदेशमा भ्यान विस्तार गर्नेबारे प्रहरी प्रधान कार्यालयको तयारी छ,’’ एसएसपी सुवेदीले भने ।
आईजीपी सर्वेन्द्र खनालले एक कार्यक्रमका बीच महाशाखाका एसएसपी धिरजप्रताप सिंहलाई गाडीको साँचो हस्तान्तरण गरे । अपराधीको फिंगर प्रिन्ट पनि अब पुरानो ढंगबाट भन्दा नयाँ ढंगबाट लिन सकिने उपकरण, डीएनए स्याम्पल संकलन सेट, ब्लड डिटेक्सन किड, बुलेट होल टेस्टिङ किड, गड मास्क लगायतका १६ प्रविधि गाडीभित्रै छन् । गाडीको प्रयोग गर्न सुरुवाती चरणमा ११ जनालाई आवश्यक तालिम दिइएको छ । गाडीभित्र ४ जना मात्रै बस्न पाउँछन् । महानगरीय अपराध महाशाखाका एसएसपी सिहंले ‘मोबाइल फरेन्सिक भ्यान’ बाट अपराध अनुसन्धानमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।
आईजीपी खनालले संगठनलाई साधन श्रोत तथा प्रविधि युक्त बनाउन संगठनको प्राथमिकता रहेको बताउँदै यस्ता साधन श्रोतको उचित प्रयोग हुनुपर्ने समेत बताए ।

