राष्ट्रिय आवास कम्पनीले बेच्दै छ ७० घडेरी, कति मूल्यमा किन्ने ?

पुस ५, काभ्रेपलाञ्चोक । राष्ट्रिय आवास कम्पनीले धुलिखेल नगरपालिका–५ स्थित खड्पुमा रहेको जग्गा बिक्री गर्न थालेकोे छ । नेपाल सरकारको अर्धस्वामित्वको उक्त कम्पनीले व्यवस्थित आवास निर्माण गर्ने उद्देश्यले १७ वर्षअघि बनेपा–पनौती सडकखण्डको सो स्थानमा ५७ रोपनी जग्गा खरिद गरेकोे थियो ।

आवास निर्माण गर्न चाहनेका लागि जग्गा बिक्री शुरु गरिएको कम्पनीका निमित्त योजना प्रमुख रुना कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “उक्त जग्गामा चालू आर्थिक वर्षमा ७० घडेरी बिक्रीका लागि सूचना प्रकाशन गरिसक्यौँ, बोलपत्र आह्वान गरिएको पनि बुधबार अन्तिम मिति हो ।”

कम्पनीले आफैँ व्यवस्थित आवास बनाई बिक्री गर्ने उद्देश्य राखे पनि जग्गा खरिद गरेको नौ वर्षसम्म कुनै काम हुन नसकेपछि विसं २०६७ मा आफ्नै युनिट कार्यालय तथा २०६८ सालमा योजना कार्यालय नै स्थापना गरी काम अघि बढाएको थियो ।

निमित्त योजना प्रमुख कार्कीका अनुसार कम्पनीको कूल ५४ रोपनी क्षेत्रफलमा ९२ घडेरी रहेको र आर्थिक वर्ष २०७४÷७५ सम्म २२ घडेरी बिक्री भइसकेको छ । बिक्री गर्न बाँकी रहेका ७० घडेरीलाई क, ख र ग श्रेणीमा विभाजन गरी बिक्रीका लागि खुला गरिएको जानकारी दिँदै निमित्त योजना प्रमुख कार्कीले भन्नुभयो, “विगतमा बनेपा नगरपालिकाको ल्याण्डफिल्ड साइडका कारण जग्गा बिक्री हुन सकेन, अहिले त्यो अवस्था नरहँदा बिक्री थालेका हौँ ।”

कम्पनीले ‘क’ श्रेणीका प्रतिवर्गमिटर रु २७ हजार ८९२, ‘ख’ श्रेणीका रु २४ हजार ७५६ र ‘ग’ श्रेणीको घडेरी रु १९ हजार ८०६ मा बिक्री वितरण गर्ने सूची बनाएको छ । हाल बिक्रीका लागि क श्रेणीका १४, ख श्रेणीका ३७ र ग श्रेणीका १९ घडेरी राखिएको छ ।कम्पनीले शुरुमा ५७ रोपनी जग्गा करीब १०० आवास, बगैँचा, पार्किङ्ग, खानेपानी, बिजुलीका तथा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने लक्ष्य लिएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.