पुस २, काठमाडौं । कञ्चनपुरको लालपुरपुस्थित नेपाल विद्युत प्राधिकरण लालपुर सबस्टेशनका चौकीदार चन्द्रदेव भट्टको आइतबार ट्रान्सफरमा जलेर भएको मृत्युबारे अनुसन्धानका लागि ५ जना कर्मचारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कार्यालय प्रमुख पदम चन्द, तिलक स्वाँर, मिनराज भट्ट, महेश शाह र कमल सिंह बडू रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुवेरसिंह कडायतले भने, ‘‘आफन्तले हत्याको आरोप लगाइरहेका छन् । केहीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौं । थप अनुसन्धान जारी छ ।’’ शनिबार राति ड्युटीमा रहेका भट्ट सबस्टेशनको ठूलो ट्रान्सफरमरमा आइतबार बिहान मृत भेटिएमा थिए । उनको पूरै शरीर जलेको अवस्थामा पाइएको थियो । भीमदत्त नगरपालिका–१९ बाँगफाँटा निवासी भट्टका आफन्तले भट्टको हत्या भएको आरोप लगाउँदै दोषीको पहिचानको माग राखी पूर्व–पश्चिम राजमार्गको लालपुर सडकखण्ड अवरुद्ध पारेका छन् । आफन्तले शव पनि उठाएका छैनन् । कञ्चनपुरका एसपी कडायतले आफन्तले किटानी जाहेरी दिने तयारी गरेकोले त्यसपछि थप अनुसन्धान हुने बताए ।

