पाँचखालमा हिमाल आरोहणको स्मरणमा विद्यालय भवन निर्माण

मङ्सिर २४, काभ्रेपलाञ्चोक । दक्षिण कोरियाका नागरिक यूएम होङ गीलले हिमाल आरोहणको स्मरणमा पाँचखाल नगरपालिका–१० स्थित आजाद उच्च माध्यमिक विद्यालयका लागि भूकम्पप्रतिरोधी भवन निर्माण गरिदिनुभएको छ ।

सर्वोच्च शिखर सगरमाथामा तीन पटक तथा नेपाल र अन्य देशका आठ हजार मिटरभन्दा माथिका १३ वटा हिमाल आरोहण गरेका गीलले उक्त विद्यालयका लागि दुई तले आठकोठे भवन निर्माण गरिदिनुभएको हो । यूएम होङ गील फाउण्डेशनका निर्देशकसमेत रहनुभएका ६८ वर्षका गीलले भन्नुभयो, “मैले हिमाल आरोहण गरेको स्मरणमा विद्यालय भवन बनाइदिएको हुँ, मैले अहिलेसम्म १६ वटा विद्यालय भवन बनाएँ ।” गीलले विद्यार्थीलाई “तपाईंहरु ठूला सपना बोकेर अगाडि लम्किनुस्” भन्नुभयो । गीलले एउटा हिमाल आरोहण गरेपछि स्मरणार्थ एउटा विद्यालय भवन बनाइदिने गर्दै आउनुभएको फाउण्डेशनका नेपाल उपनिर्देशक सञ्जीव हुमागाईंले जानकारी दिनुभयो ।

उहाँका अनुसार गीलले कोरियास्थित दोवन विहारकी भिक्षुणी मानोको सहयोगमा १२ जिल्लाका १६ वटा विद्यालय भवन निर्माण गर्नुभएको हो । कूल रु एक करोड ९५ लाख लागतमा भवनसँगै २० वटा ल्यापटप राखिएको कम्प्युटर ल्याब, विद्यालयलाई ४०० मिटर पक्की घेरा पर्खाल, शौचालय र विद्यालय बगैँचामा पक्की बाटो निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक प्रल्हाद तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार कूल लागतमध्ये २० प्रतिशत रकम विद्यालयको हो । विद्यालय भवनको प्रदेश नं ३ सांसद लक्ष्मण लम्साल र गीलले आइतबार संयुक्तरुपमा उद्घाटन गर्नुभयो । पूर्वशिक्षामन्त्री गङ्गाधार तुलाधरले विसं २०७२ को विनाशकारी भूकम्पपछि दातृ निकायले नेपालमा गरेको सहयोगको प्रशंसा गर्दै कोरियन नागरिक गीलको सहयोग नेपालीको लागि पे्ररणादायी बनेको बताउनुभयो ।

फाउण्डेशनले आइतबारै उक्त विद्यालयका ७७८ विद्यार्थीका लागि पोशाक, ब्याग तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । विसं २००७ मा स्थापित विद्यालयमा हाल पूर्णरुपमा अङ्गे्रजी भाषामा अध्यापन भइरहेको छ ।

तस्बीरः सांसद लक्ष्मण लम्सालको फेसबुकबाट

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.