आईएनजीओको विरोध गर्दा दुई पक्राउ

मंसिर २३, काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा मगर सहभागी कार्यक्रमलाई विथोल्न खोज्दा दुई बालअधिकार अभियन्ता पक्राउ परेका छन् ।

पूर्वबालक्लब सदस्य समेत रहेका अभियन्ता धिरज जोशी र प्रविण सिलवाल पक्राउ परेका हुन् । उनीहरुलाई भक्तपुरस्थित एसओएस चिल्ड्रेन भिलेजमा आयोजित कार्यक्रम स्थलबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, भक्तपुरले जनाएको छ । उनीहरुलाई करिब ८ घन्टा महानगरीय प्रहरी वृत्त, ठिमीमा राखिएको थियो । युनिसेफ र प्लान इन्टरनेशनल लगायतका आइएनजीओले आयोजना गरेकोे ‘अल्टरनेटिभ कियर’ विषयक कार्यक्रममा मन्त्री थापाले मन्तव्य राख्न लाग्दा उनीहरुले विरोध जनाएका थिए । बालअधिकारका लागि राष्ट्रिय अभियानमा आबद्ध जोशी र सिलवाल यसअघिदेखि नै आएजीओको विरुद्धमा गतिविधि गर्दै आएका छन् ।

उनीहरुले एजीओको कार्यक्रममा मन्त्रीको उपस्थितिको विरोध जनाएका थिए । ‘हामीले यसअघि पनि भन्दै आएका छौं । बालबालिकाको क्षेत्रमा हुने डलर खेती बन्द गरौं’, अभियन्ता जोशीले कार्यक्रममा भनेका थिए, ‘मन्त्रीज्यू आफैं यस्तो कार्यक्रममा सहभागी हुनु लज्जापद छ ।’ जोशीले अनुरोध गर्दै मन्त्री थापालाई भनेका थिए, ‘मन्त्री ज्यू, यहाँ तपाईले बोल्नु हुँदैन नबोल्नुस्, हामी तपाईंलाई बिन्ती गर्छौँ ।’ ‘बालबालिकाको नाममा आईएनजीओहरुले ब्रम्हलुट मच्चाएका छन्’, जोशी भन्छन्, ‘उनीहरुलाई नै सरकारले साथ लिनु दुःखद् छ ।’ अर्का अभियन्ता सिलवालले मन्त्री थापाले यसअघि बालबालिका सम्बन्धी ऐन संशोधन नभएसम्म कार्यक्रममा जाँदिन भनेर प्रतिवद्धता जनाएको दाबी गरे । यद्यपि, आफैं आईएनजीओको कार्यक्रममा सहभागी भएपछि विरोध जनाएको बताए । उनी यसअघि पनि विधेयक च्यातेको आरोपमा पक्राउ परेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.