नेपाल र पोल्याण्डका राष्ट्रपतिबीच भेटवार्ता
मंसिर १९, काठमाडौं । पोल्याण्ड भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र पोल्याण्डका राष्ट्रपति एन्ड्रेज डुडाबीच द्विपक्षीय बैठक सम्पन्न भएको छ । राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुन राष्ट्रपति मंसिर १५ गते पोल्याण्ड पुगेकी हुन् ।
सोही क्रममा दुई देशका राष्ट्रपति मंगलबार द्विपक्षीय बैठकमा सहभागी बनेका हुन् । “सौहार्द तथा मैत्रीपूर्ण वातावरणमा बैठक सम्पन्न भयो,” परराष्ट्र मन्त्रालयद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ, “दुवै राष्ट्रपतिले नेपाल–पोल्याण्ड द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल गर्नुभयो ।” बैठकमा जलवायु परिवर्तन र यसले गरिब राष्ट्रमा पारेको प्रभावका विषयमा छलफल भएको परराष्ट्रले जनाएको छ । जलवायु परिवर्तनले प्रभावित गरिब राष्ट्रलाई विकसित राष्ट्रहरुले यसको प्रभाव कम गर्न ज्ञान, प्रविधि र स्रोतमार्फत् सघाउन पर्नेमा दुवै देशका राष्ट्रपति सहमति जनाएका थिए ।
पोल्याण्डका राष्ट्रपतिसँग द्विपक्षीय बैठक बसेपछि राष्ट्रपति भण्डारीले त्यहाँ रहेका नेपाली समुदायका प्रतिनिधिहरुसँग भेटघाट गरेकी थिइन् । दुवै भेटघाटमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र राष्ट्रपति कार्यालयमा विज्ञका रुपमा कार्यरत सुशिल राज प्याकुरेल पनि उपस्थित रहेका थिए ।

