हफिजले टेस्ट क्रिकेटबाट सन्यास लिने

एजेन्सी । पाकिस्तानका अन्तर्राष्ट्रिय क्रिकेटर मोहम्मद हफिजले अबुधाबीमा जारी न्युजिल्यान्डविरुद्धको टेस्टपछि पाँच दिने क्रिकेटबाट सन्यास लिने भएका छन् । अर्को वर्ष हुने एकदिवसीय विश्वकपको पूर्वसन्ध्यामा सेतो बलको क्रिकेटमा केन्द्रित हुन उनले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।
दुई वर्षभन्दा लामो समयको अनुपस्थिति चिर्दै हफिज गत अक्टोबरमाा पाकिस्तानी टेस्ट टोलीमा फर्किएका थिए । जहाँ उनले दुबईमा सम्पन्न अस्ट्रेलियाविरुद्धको खेलमा शतक प्रहार गरेर पुनरागमन सार्थक बनाएका थिए । तर त्यो दमदार सुरुआतलाई निरन्तरता दिन नसकेका हफिजले बाँकी पाँच इनिङमा जम्मा ६० रन बनाएका थिए । न्युजिल्यान्डविरुद्धको शृंखलामा पनि उनले एउटै विकेट लिन सकेनन् । सन्यासको घोषणा गर्नुभन्दा केही घण्टाअघि उनी चार बल सामना गर्दै शून्यमा आउट भएका थिए ।

‘इमान्दारीपूर्वक भन्ने हो भने यो मेरा लागि अत्यन्तै कठिन निर्णय थियो । पछिल्लो केही सातादेखि मैले सन्यासको विषयमा सोच्न थालेको थिएँ । अब टेस्ट क्रिकेटबाट विदा लिएर सीमित ओभरमा केन्द्रित हुनुपर्छ भन्ने लागेर मैले निर्णय गरेको हुँ,’ उनले भने, ‘यो मेरो नितान्त व्यक्तिगत निर्णय हो । यो विषयमा मैले पाकिस्तान क्रिकेट बोर्ड, टिमका साथीहरु र परिवारका सदस्यलाई जानकारी गराइसकेको छु ।’

हफिजले २००३ मा कराँचीमा बंगलादेशविरुद्धको खेलबाट टेस्टमा डेब्यु गरेका थिए । ५५ खेलको लामो करियरमा दायाँ हाते ओपनरले १० शतक र १२ अर्धशतकका साथ ३८.२९ को औसतमा ३ हजार ६ सय ३८ रन बनाएका छन् । उनले अफ स्पिन बलिङबाट ५३ विकेट लिएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.