मङ्सिर १९, ललितपुर । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले झण्डै दुई हजार उजुरीको अनुसन्धान सम्पन्न गरेको छ ।
आयोगमा परेका तीन हजार १९७ वटा उजुरीमध्ये एक हजार नौ सयवटा उजुरीको अनुसन्धान गरिएको आयोगको दाबी छ । आयोगले देशका ५६ जिल्लामा पुगेर स्थलगत अनुसन्धान गरी उजुरी सङ्कलन गरेको थियो । आयोगका सदस्य तथा प्रवक्ता प्रा।डा। विष्णु पाठकले ६५ जिल्लामा बेपत्ता भएका व्यक्तिहरूसम्वन्धी परेका उजुरीका बारेमा अनुसन्धान गर्ने लक्ष्य लिएको बताउनुभयो । आयोगमा परेका उजुरीको अनुसन्धानकै क्रममा १९ जना घरपरिवारको सम्पर्कमा आएको पनि जानकारी दिनुभयो । चार वर्षे कार्यकालमा भएका अनुसन्धान लगायत सबै विवरण सरकारलाई बुझाउने तयारी भइरहेको आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले बताउनुभयो । आयोगको समयावधि आगामी माघ २६ गतेसम्म रहेको छ ।
उहाँले आयोगलाई दिइएको जिम्मेवारीको सीमाभित्र रहेर निरन्तर कार्य भरहेको, तर कर्मचारी बजेट र पीडकलाई सजाय दिलाउने कानुनको अभावमा देखिने गरी काम गर्न नसकिएको स्वीकार्नुभयो । उजुरीको आधारमा अनुसन्धान गर्ने, पीडितलाई परिपूरण दिलाउनका लागि सरकारलाई सिफारिस मात्र गर्न सक्ने अधिकार आयोगलाई दिइएको छ । अध्यक्ष मल्लिकले अनुसन्धानको आधारमा पीडकको पहिचान खुले पनि सजाय हुन नसक्दा आयोगको काम नदेखिएको तर्क गर्नुभयो । आयोगले आगामी पुस १५ गतेसम्ममा उजुरीहरूको सत्यतथ्यको प्रतिवेदन, पीडकको पहिचान, पीडितलाई परिचयपत्र वितरण, परिपुरण सम्वन्धमा सिफारिस र भविष्यमा द्वन्द्व दोहोरिन नदिन अपनाउनुपर्ने उपायको बारेमा सरकारलाई सुझाव दिने योजना रहेको पनि उहाँले बताउनुभयो ।

