कृषि र वनका निजी क्याम्पसको भर्ना रोक्का

मङ्सिर १२, चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक र विद्यार्थी आन्दोलित बनेपछि निजीका लागि भर्ना प्रक्रिया रोक्का गरिएको छ ।

विश्वविद्यालयले डिनको कार्यालयलाई हालका लागि निजी सम्बन्धनको भर्ना प्रक्रिया रोक्का गर्न निर्देशन दिएको थियो ।विश्वविद्यालयको कृषि सङ्कायका डिन जयप्रकाश दत्तका अनुसार मङ्गलबार बसेको भर्ना समितिले विश्वविद्यालयको निर्देशनअनुसार भर्नाको सूचना संशोधन गरी हाललाई निजी सम्बन्धनको भर्ना प्रक्रिया रोक्का गर्ने निर्णय गरिएको बताउनुभयो । यससँगै वन सङ्कायको पनि निजीको भर्ना प्रक्रिया रोक्का हुने बताइएको छ । दत्तका अनुसार विश्वविद्यालयको रामपुरमा रहेको क्याम्पस र आङ्गिक क्याम्पसका लागि भने यही भर्नाको सूचनाबाट आवेदन दिएकाले प्रवेश परीक्षा दिन पाउनेछन् । निजीलाई सम्बन्धन दिने÷नदिने विषयमा सर्वोच्च अदालतले पुस २६ गते सुनुवाइका लागि पेशी तोकेको छ । सो पश्चात निजीको भर्ना प्रक्रिया अघि बढ्ने वा नबढ्ने निर्णय गरिने विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयले आठ निजी क्याम्पसलाई सम्बन्धन दिएपछि विद्यार्थी र प्राध्यापकले आन्दोलन गरेका थिए । त्यही दबाबमा मन्त्रिपरिषद्को बैठकले सम्बन्धन खारेज गर्ने निर्णय गरेको थियो । सो पश्चात् सम्बन्धन पाएका निजी क्याम्पस सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चबाट मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्नु÷नगराउनु भन्ने अन्तरिम आदेश जारी भएसँगै विश्वविद्यालयलाई भर्ना खोल्ने बाटो खुलेको विश्वविद्यालयले जनाएको थियो । सो पश्चात् विद्यार्थीले सम्बन्धन दिने निर्णयविरुद्ध रिट निवेदन पेश गरेको भए पनि सर्वोच्चले अन्तरिम आदेश जारी गर्न नपर्ने भन्ने आदेश दिएको छ । तर विश्वविद्यालयले आन्दोलन थेग्न नसकेपछि सर्वोच्चको सुनुवाइ कुर्ने गरी हालका लागि निजीको भर्ना प्रक्रिया रोक्का गरेको हो ।

विश्वविद्यालयको कृषि सङ्कायको डिनको कार्यालयले कात्तिक २५ गतेबाट मङ्सिर १७ गतेसम्म अनलाइनमार्फत भर्ना फारम खोलेको थियो । वन सङ्कायले कात्तिक २० गते नै भर्ना खोलेको थियो । वनको मङ्सिर १६ गतेसम्म भर्ना फारम भर्ने समय तोकिएको छ । वनको मङ्सिर २२ गते र कृषिको मङ्सिर २९ गते प्रवेश परीक्षा लिने तयारी गरिएको छ । विश्वविद्यालयले निजी सात क्याम्पसलाई कृषि स्नातक र एउटा क्याम्पसलाई वन स्नातकका लागि सम्बन्धन दिएको छ । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.