मंसिर १२, काठमाडौं । नेपालका लागि चीनका राजदूत यु होङ्गले नेपाल र चीन प्राचीन समयदेखि असल मित्र रहेको बताउँदै नेपालको विकास र समृद्धिमा चीनले सधैं सहयोग गर्ने बताएकी छन् । मंगलबार राजधानीमा आयोजित ‘पर्यटन व्यवसायीको लागि चिनिया भाषा तालीम समापन’ समारोहलाई संबोधन गर्दै सो कुरा बताएकी हुन् ।
राजदूत होङ्गले सन् २०१८ नेपाल तथा चीन दुबै देशका लागि महत्वपूर्ण वर्ष भएको बताउँदै नेपालमा नयाँ संविधान जारी भएसँगै दुई तहका निर्वाचन भएको र अहिले स्थिर सरकारले विकास र समृद्धिको बाटो समात्न सकेको पाउँदा खुसी लागेको जनाइन् । उनले चीनमा सुधार र खुलापनको ४०औं वर्षगाँठ र ‘बेल्ट एण्ड रोड इनिसिएटिभ परियोजना’ को पनि ५ बर्ष पूरा भएको बताउँदै भनिन्, “नेपाल तथा विश्वमा नै यस परियोजनाको सकारात्मक प्रभाव पारिहेको छ ।”
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले नेपालको आर्थिक तथा भौतिक विकासमा चीनको राम्रो सहयोग रहदै आएको बताए । नेपाल सांस्कृतिक तथा शैक्षिक परिषदका अध्यक्ष डा. हरिशचन्द्र साहले विगतका वर्षमा पनि चीनको नेपाल स्थित दूतावासले चिनिया भाषा शिक्षण कार्यमा उल्लेख्य सहयोग गरेको चर्चा गरे । यस वर्ष ४० जनाले चिनियाँ भाषाको एचएसके ३ (तेश्रो तह) को परिक्षा दिएको र त्यस मध्ये २९ जनाले उत्तीर्ण गरेको अध्यक्ष साहले बताए ।

