मङ्सिर ११, सुर्खेत । उपराष्ट्रपति नन्दबहादुर पुनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको दीर्घकालीन विकासमा जोड दिने बताउनुभएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको नर्सिङ् डिन अफ स्कूलअन्तर्गत स्नातक तह ‘मिडवाइफेरी’ कार्यक्रमको उद्घाटन गर्न जुम्ला पुग्नुभएका उपराष्ट्रपति पुनले हिमाली क्षेत्रमा नेपालकै मोडेल स्वास्थ्य विश्वविद्यालयका रुपमा प्रतिष्ठानलाई स्थापित गरिने बताउनुभयो । “हिमाली क्षेत्रमा अपेक्षा गरेभन्दा ठूलो संरचना बनेको छ,” उहाँले भन्नुभयो, “प्रतिष्ठानमा एमबिबिएस र एमडिजी कार्यक्रम सञ्चालनका निम्ति सरकारका तर्फबाट आवश्यक सहयोग हुनेछ ।” उहाँले भन्नुभयो, “कर्णाली प्रदेशको केन्द्र भागमा रहेको प्रतिष्ठान जुम्लाको भौगोलिक अवस्था, भौतिक उपकरण, बिरामीको सङ्ख्या र जनशक्ति प्रयाप्त देखियो । यसले दुर्गमको मानक तोडेको छ ।”
सो अवसरमा उपराष्ट्रपति पुनले प्रतिष्ठानमा उपलब्ध अत्याधुनिक ल्याब, फार्मेसी, आइसियुलगायत विभिन्न विभागको अवलोकन गर्नुभएको थियो ।कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले यो प्रदेशको स्वास्थ्य क्षेत्रको विराट संरचनाको दीर्घकालीन विकास सङ्घीय सरकारको प्राथमिकतामा रहनुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानका संस्थापकसमेत रहनुभएका कानूनमन्त्री भण्डारीले प्रतिष्ठानबाट उत्पादित जनशक्ति र प्रवाहित सेवाले दुर्गम र विकट मानसिकतालाई दुनियाँमा असम्भव कुनै कुरा छैन भन्ने प्रमाणित गरेको दावी गर्नुभयो ।
पूर्व राज्यमन्त्री बलबहादुर महतले सङ्घर्षको परिणामबाट आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकास र उन्नतिमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रको समृद्धि ल्याउन प्रतिष्ठान कोशेढुङ्गा सावित हुने दावी गर्नुभयो । –रासस

