मंसिर ९, काठमाडौं । भुकम्प प्रभावित गुम्बा विहार पुर्ननिर्माणका लागि वैदेशिक दाताहरुबाट करोडौं सहयोग आए पनि क्षतिग्रस्त गुम्बाविहारहरु पुर्ननिर्माण प्रक्रियाले गति लिन सकेको छैन ।
प्राधिकरणका सिइओ फेरिए पिच्छे नयाँ – नयाँ शर्तहरु सार्दै निर्णयहरु भईरहने भएकोले भुकम्प प्रभावित गुम्बा विहार पुर्ननिर्माण अन्यौल बन्दै गएको हो । गत कार्तिक २६ गतेको संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले भूकम्प प्रभावित ३२ जिल्लाका स्थानीय निकायहरुलाई गरेको परिपत्र अनुसार राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीको अध्यक्षतामा बसेको प्राधिकरणको वैठकले असोज २५गते विगतका वर्षहरुमा भुकम्प प्रभावित गुम्बा विहारका संघर्ष समिति, गुम्बा विहारका प्रतिनिधिहरुसँग गरेको सम्झौता भन्दा भिन्दै नयाँ निर्णय गरेको छ । नयाँ निर्णय अनुसार सय बर्ष पुरानो र २ हजार वर्ग फिट भएको करिब २ सय ६४ वटा गुम्बाहरु नेपाल सरकारको मातहतबाटै टेन्डर मार्फत बनाउने र बाँकी रहेका भुकम्प प्रभावित गुम्बा विहार पुर्ननिर्माणका लागि प्राधिकरणले ५० प्रतिशत अनुदानका रुपमा स्थानीय निकायमा पठाउने र बाँकि ५० प्रतिशत गुम्बा विहार व्यवस्थापन, संरक्षण तथा उपभोक्ता समितिहरुले जुटाउनु पर्नेछ । सोही अनुसार पुर्ननिर्माण प्रक्रिया अगाडी बढाउन बढाउन संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले कार्तिक २६ गते परिपत्र गरेको हो ।
विगतमा के के सम्झौता भएका थिए ?
७३ साल माघ २७ गते बौद्ध दर्शन प्रवद्धर्न तथा गुम्बा विकास समितिको तर्फबाट भूकम्पले क्षति भएका गुम्बा पुर्ननिर्माणका लागि प्रस्तावित रकम मध्येबाट पुर्ननिर्माण प्राधिकरणबाट पुर्ननिर्माणका लागि पहिलो किस्ता रकम दिने परिपत्र गुम्बाहरुलाई गरिएको थियो । त्यसै अनुसार गुम्बाहरुले शर्त अनुसार १ प्रतिशत रकम जम्मा गर्ने, गुम्वा निर्माण स्थलका भग्नावशेष हटाउने, जमिन सम्याउने, नक्सा पास गर्ने कार्यहरु सम्पन्न गरे पनि पछि किस्ता अनुसारका रकम पाउन सकेनन् र पुर्ननिर्माण कार्य अगाडी बढ्न सकेन । यसबाट शर्त अनुसार खर्च गरिएको रकम समेत फसेको छ । एकातिर भत्केका आफ्ना घरहरु पुर्ननिर्माण गर्नुपर्ने र अर्कोतिर आश्थाको केन्द्र पुर्ननिर्माण गर्नु पर्ने बाध्यताका बिच ऋण गरेरै भएपनि भुकम्प प्रभावित गुम्बा पुर्ननिर्माणका लागि शर्त अनुसार १ प्रतिशत रकम जम्मा गर्ने, गुम्वा निर्माण स्थलका भग्नावशेष हटाउने, जमिन सम्याउने, नक्सा पास गर्ने कार्यहरु सम्पन्न गरेका गुम्बा र धर्म गुरुहरुलाई ऋणमाथि ऋण मात्र थपिने स्थिती आयो ।
भुकम्प प्रभावित गुम्बाहरुको पुनःनिर्माण अनिश्चित भएपछि भुकम्प प्रभावित गुम्बा विहार पुर्ननिर्माण संघर्ष समितिले आन्दोलनका कार्यक्रमहरु व्यापक बनाए पछि ७४ साल भदौ २५ गते राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, बौद्ध दर्शन प्रवद्धर्न तथा गुम्बा विकास समिति र भुकम्प प्रभावित गुम्बा विहार पुर्ननिर्माण संघर्ष समितिबिचमा ३ पक्षिय सम्झौता भयो ।
त्रिपक्षिय सम्झौतामा संघर्षरत पक्षले आन्दोलन स्थगित गर्ने र १० प्रतिशत श्रमदान उपभोक्ताले गर्ने गरी अनुदानमा पुर्ननिर्माण कार्य अगाडी बढाउने सम्झौता भएपनि संघर्षरत पक्षको कार्यक्रम स्थगित भएपनि हालसम्म सम्झौता अनुसार पुर्ननिर्माण प्रक्रिया शुरु हुन सकेन । तर गत असोज २५ गते बसेको प्राधिकरणको वैठकले ५० प्रतिशत अनुदान स्थानीय निकायमा पठाउने र ५० प्रतिशत गुम्बा विहार व्यवस्थापक, संरक्षण तथा उपभोक्ता समितिले व्यहोर्नु पर्ने गरि निर्णय गरेपछि भुकम्प प्रभावित गुम्बा विहार पुर्ननिर्माण प्रक्रिया विरुद्ध भईरहेका अनेक चलखेलको षडयन्त्रका कारण पुर्ननिर्माण प्रक्रिया शुरु नहुने र आस्था केन्द्र विना धार्मिक अधिकार उपभोग गर्न नपाउँदा लाखौं बुद्धधर्मावलम्बिहरुको अधिकार वषौं कुण्ठित भईरहने अवस्था सिर्जना भएकोमा नेपाल गुम्बा विहार महासंघका केन्द्रीय सदस्य जित बहादुर लामाले दुःख व्यक्त गर्नु भयो ।


