रामपुर अस्पतालमा भिडियो एक्सरे सेवा ठप्प, सेवाग्राही मर्कामा

मंसिर ८, पाल्पा । रामपुर अस्पतालमा सञ्चालन हुँदै आएको भिडियो एक्सरे सेवा ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन्। अस्पतालमा भिडियो एक्सरे मेसिन छ तर प्रयोगमा ल्याउने जनशक्ति अभावका कारण सेवा नै बन्द छ। भिडियो एक्सरे सेवाका लागि अस्पतालमा एकजना रेडियोलोजिष्ट डाक्टरको दरबन्दी छ। दरबन्दी अनुसार डाक्टर नहुँदा यहाँका नागरिकले आफ्नै गाउँ ठाउँकै अस्पतालबाट सहज र सुलभ सेवा पाउन सकेका छैनन्।

अस्पतालमा भिडियो एक्सरे सेवा बन्द हुँदा निजी क्लिनिकमा महङ्गो शुल्कमा भिडियो एक्सरे गर्न बाध्य रहेको बिरामी गुनासो गर्छन्। दुई महीनादेखि यहाँ रहेको भिडियो एक्सरे मेसिन चालु नभएको अस्पतालका निमिक्त प्रमुख विनेश झा बताउँछन्। अस्पतालमा दबरन्दी छ, तर दरबन्दी अनुसारका डाक्टर नहुँदा भएका सामान पनि प्रयोगमा ल्याउन सकिएको छैन झाले भने, “भिडियो एक्सरे मेसिन सञ्चालन गर्न दरबन्दी अनुसारको डाक्टर नहुनु अर्कोतर्फ तालीम प्राप्त डाक्टरको अभावमा सेवा दिन नसकिएको उहाँ स्वीकार गर्नुहुन्छ।” एक्सरे सेवा सुचारु गर्न सम्बन्धित निकायमा जानकारी गराए पनि अहिलेसम्म समस्याको समाधान हुन नसकेको अस्पतालले जनाएको छ। अस्पतालमा भिडियो एक्सरे सेवा नपाउँदा बिरामीले सास्ती खेप्नु परेको रामपुर नगरपलिका ५ बस्ने बुद्धिसरा दरै बताउँछन्।

उनी मुटुको समस्याले अस्पतालमा उपचार गराउन आएकी थिइन्। डाक्टरले भिडियो एक्सरे गर्ने सल्लाह दिएपछि अन्यत्र क्लिनिकतिर धाउनु पर्दा निकै समस्या परेको बताइन्। एक्सरेकै लागि अस्पताल आएकी लीलादेवी खनाल पनि अस्तालले सेवा बन्द गरेको बताएपछि फर्किएकी थिइन्। “भिडियो एक्सरे गर्नकै लागि आएको, मेसिन बन्द छ, भनेर डाक्टरले भनेपछि उपचार नै नगरी फकिर्यो” खनालले भनिन्। दैनिकजसो भिडियो एक्सरे गर्ने बिरामीको यहाँ खाली हुदैन। भिडियो एक्सरेकै लागि मात्र टाढाटाढाबाट पनि बिरामी अस्पतालसम्म आउने गर्छन्। तर सेवा नपाउँदा त्यसै फर्कन बाध्य भएका छन्। अस्पतालमा दरबन्दी छ, तर डाक्टर नै नभएपछि सेवा नै बन्द हुँदा बिरामी मारमा परेको स्वास्थ्य शाखा रामपुरमा संयोजक तीर्थप्रसाद ढुङ्गाना बताउँछन्। यस विषयमा स्थानीय तहले तत्काल समस्याको समाधान गर्ने उपायतिर त्यति चासो देखाएको पाइदैन। रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.