गाउँ फर्की बोयर जातको बाख्रापालन व्यवसाय शुरु

मङ्सिर ६, पोखरा। अवसर खोज्दै दुई दशकअघि पोखरा झरेका यहाँका एक युवा पुनः गाउँ फर्केर बोयर जातको बाख्रापालन व्यवसाय शुरु गर्नुभएको छ ।

साबिकको माझठाना गाविस–६ (हाल पोखरा महानगरपालिका–२८) का विष्णु बाँस्तोलाले अस्ट्रेलियाबाट ल्याएका दुइटा बोयर जातका पाठापाठीबाट व्यावसायिक बाख्रापालन शुरु गर्नुभएको हो । छोटो समयमा बढी उत्पादन दिने, कोल्डस्टोरको मात्रा कम हुने हुँदा उत्पादन र स्वास्थ्यको लागिसमेत उपयुक्त बोयर जात बाख्राको सङ्ख्या वृद्धि गरी विस्तार गर्दै जाने लक्ष्य राखेको उहाँले बताउनुभयो । गत वैशाखमा अस्ट्रेलियाबाट २५ केजी पाठी र २७ केजीको पाठोलाई रु पाँच लाखमा खर्चेर ल्याएको जानकारी दिँदै उहाँले छ महीनाको अवधिमा पाठी ५२ केजी र बोका ६२ केजी तौलको बनेको बताउनुभयो । जङ्गलको बीच र एकान्त स्थानमा निर्मित अत्याधुनिक खोरमा यतिखेर विभिन्न जातका ३० वटा माहु बाख्रासहित ६० वटा पुगेको बताउँदै उहाँले हालसम्म बाख्रा पालनमा रु ५० लाख लगानी गरिसकेको बताउनुभयो ।

उहाँका अनुसार सञ्चालन गरिएको ‘खर्का बाख्रा फार्म’ मासुको प्रयोजनका लागि नभई शुद्व बोयर एवम् स्थानीय खरी जातको बाख्रालाई बोयर बोका दिएर नस्ल सुधार गर्दै उन्नत जातका पाठापाठी बिक्री गरी कृषकलाई बाख्रापालन व्यवसायमा प्रेरित गर्ने योजना राखिएको हो । अष्ट्रेलियाबाट खरीद गरेर ल्याएका शुद्व बोयर जातबाट जन्मेका पाठापाठीलाई प्रतिकेजी जिउँदो दुई हजार २०० र क्रसलाई एक हजार ५०० का दरले बिक्री गर्ने लक्ष्य राखिएको छ । खरीद गरिएका ब्याउने माहु बाख्राबाट जन्मेका बोका बिक्री गर्दै आएको बताउँदै उहाँले भन्नुभयो, “हालसम्म सानाठूला गरी १५ वटा बिक्री गरेर लगभग डेढ लाख आम्दानी गरिसकेको छु, खोरमा हाल चार जनाले आवासीय रुपमा रोजगारी प्राप्त गरेका छन् ।”

बाँझिएको २४ रोपनी जग्गामा आधुनिक खोर निर्माण गर्नाका साथै बाख्राका लागि उपयुक्त मानिने इपिलइपिल, राई खनियोलगायत विभिन्न डाले घाँसका बिरुवा लगाएको र उत्पादनसमेत दिन शुरु गरेको व्यवसायमा सहयोग गर्दै आएका केशव बाँस्तोला बताउनुहुन्छ । बाख्रा फार्मसँगै ११ घार मौरी र लोकल कुखुरासमेत पाल्न शुरु गरेको बताउँदै उहाँले सो क्षेत्रमा घरबास कार्यक्रमसमेत सञ्चालन गरेर आगन्तुक पाहुनालाई प्राङ्गारिक तरकारी, मह र मासुको स्वाद चखाउने योजना छ । अफ्रिकाको स्थानीय जातलाई युरोपमा ल्याएर विकास गरिएको बोयर जातको बाख्रामा जन्मेको एक वर्षसम्म दैनिक २।३५ ग्रामका दरले मासु वृद्धि हुने र राम्रो व्यवस्थापन गर्न सके एउटा बोका १३० केजीसम्म तौल हुने युवाका लागि नमूना बाख्रा गाउँ अभियन्ता सुशील अर्यालले बताउनुभयो । उहाँका अनुसार बोका नगन्हाउने, बोसोको मात्रा कम हुँदा बालकदेखि वृद्धसम्म जनसुकै उमेरका मानिसका लागि पनि उपयुक्त हुन्छ ।

बोकाको तीव्र वृद्धिदर भएको कारण स्वास्थ्य र आम्दानीको तुलनामा महत्वपूर्ण ठहरिएको हुँदा बोयर जातको बाख्रापालनका लागि नेपाल सरकारले समेत सिफारिश गरेको छ । देख्दा राम्रो र सफासुग्घर तथा शान्त वातावरण रुचाउने सो जातको बाख्रा दुई वर्षको अवधिमा तीन पटक ब्याउने र एक पटकमा दुई वटा पाठापाठी पाउने गर्दछ । समुन्द्री सतहबाट ८५० मिटर उचाइमा रहेको सो स्थानमा बोयर जातको बाख्रापालनका लागि उपयुक्त वातावरण भएको उल्लेख गर्दै उहाँले यस ‘खर्का बाख्रा फार्म’लाई गण्डकी प्रदेशको नमूना फर्मका रुपमा विकास गरिनुपर्नेमा जोड दिनुभयो । सङ्घीय सांसद खगराज अधिकारीले सो बाख्रा फार्मको अवलोकन गरेको जानकारी दिँदै उहाँले फार्म रहेको स्थानलाई मोटर बाटोसँग जोड्न स्थानीय भौतिक विकास कार्यक्रमअन्तर्गत रु १० लाख विनियोजन गरेको बताउनुभयो । गाउँमा बाँझिएका जग्गालाई सम्भाव्यता अध्ययनका आधारमा भरपुर उपयोग गर्दै उद्यमशीलताको विकासमार्पmत रोजगार सिर्जना गरी समृद्धिको आधार बनाउनु वर्तमानको आवश्यकता भएको सरोकारवाला बताउँछन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.