कन्चनपुर ३ का सांसद डा. भट्टले छाने आफ्नो क्षेत्रमा योजना

मंसिर ६, कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य डा. दिपकप्रकाश भट्टले आफ्नो क्षेत्रको लागि योजना छानेका छन् । भट्टले छानेका योजनाहरुमा दुई स्थानीय तहका विपन्न र भूमिहिन बासिन्दाका लागि आवास निर्माण गरिने भएको छ ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत भीमदत्त नगरपालिका र महाकाली नगरपालिकामा आवास निर्माण योजना बनाएका हुन् । दुवै तहमा आवास निर्माणका लागि चालु आर्थिक वर्षमा ५०–५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । निर्वाचन क्षेत्रका दुवै प्रदेश सरकार र स्थानीय सरकारसित समन्वय गरी विपन्न र भूमिहिन परिवारका लागि आवास निर्माण योजना छनोट गरिएको हो । प्रदेश सभाका सदस्यद्वय प्रकाश रावल र मानबहादुर सुनार दुवैले आवास निर्माण योजनालाई सहयोग गर्ने आश्वासन दिएका छन् ।

प्रत्यक्ष निर्वाचित सांसदलाई स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत छुट्याएको ४ करोड बजेटका लागि क्षेत्र नं। ३ मा पर्ने भीमदत्त नगरपालिका, महाकाली नगरपालिका र बेदकोट नगरपालिका वडा नं. ८ लाई समावेश गरी योजना छनोट गरिएका छन् । जिल्ला समन्वय समितिमा प्रदेश सांसद, समन्वय समितिका प्रमुख, उपप्रमुख, स्थानीय तहका प्रमुख सहितको कार्यक्रम परामर्श समितिको बैठकमा छलफल गरी कार्यक्रम निर्देशक समितिले तीनै तहलाई समावेश गरी योजना छनोट गरेको हो । सांसद भट्टले तीनै तहका सबै वडालाई समेटेर योजना छनोट गरेका हुन् । सांसद डा। भट्टले आफ्नो क्षेत्रमा अनपेक्षित रुपमा विपन्न र भूमिहिनका लागि आवास निर्माण योजना प्राथमिकताका साथ ल्याएका छन् । “निर्वाचन प्रचारप्रसारका क्रममा विपन्न र भूमिहिन परिवारको पीडा देखेर माननीयज्यू निकै चिन्तित हुनुभएको थियो । त्यो पीडा हटाउने गरी आवास निर्माण प्राथमिकतामा राख्नु भएको हो,” सांसद भट्टका स्वकीय सचिव नितिश कुमार भट्टले भने ।स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली २०७५ मा ५०–५० लाखका दुई ठूला योजनासहित कम्तिमा १० लाखभन्दा बढीका योजना छनोट गर्नुपर्ने प्रावधान छ ।

साँसद भट्टले आवाश निर्माण सहित शिक्षा, स्वास्थ्य, सिँचाई र विपद् व्यवस्थापनलाई मध्यनजर गरी योजना छनौट गरेका छन् । दुबै तहका सामुदायिक विद्यालयलाई भौतिक पूर्वाधार सम्पन्न बनाउन योजना छनौट गरिएका छन् । निर्वाचनका क्रममा डा. भट्टले दोधारा चाँदनीमा सुख्खा बन्दरगाह, मझगाउँ विमानस्थल सञ्चालन, महाकाली कोरिडोर निर्माण, महाकाली अञ्चल अस्पतालालाई शिक्षण अस्पताल बनाउने, गरिब तथा भूमिहिन परिवारको व्यवस्थानि गरिने लगायतका प्रवितबद्धता गरेका थिए । साँसद भट्टका स्वकिय सचिव भट्टले निर्वाचनमा गरिएका प्रतिवद्धता अनुसार ठूलो आयोजनाको लागि साँसदले पहलकदमी गरिरहेको जानकारी दिए ।

डा. भट्टको पहलमा दोधारा चाँदनीमा एकीकृत भन्सार जाँच चौकीको सम्भाव्यता अध्ययन, महाकाली कोरिडोरको वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया सुरु, महाकाली अञ्चल अस्पतालमा चिकित्सक दरबन्दी बढाउन पहल लगायतका कार्य गरिएका छन् । डा. भट्टको पहलमा अस्पतालमा १२ डाक्टर पुगेका छन् । साँसद भट्टको पहलमा शुक्लाफाँटा पर्यटन मार्गको विस्तृत परियोजना (डिपिआर) बनाउने योजना रातो किताबमा समावेश गरिएको छ । सुदूरपश्चिम प्रदेशलाई भारत र चीनको त्रिदेशशीय नाका बनाउने लक्ष्यसहित महाकाली कोरिडोर निर्माण गर्न लागिएको हो । नेकपाका नेता पूर्व प्रधानमन्त्री झलनाथ खनालको पालामा २०६६ मा कोरिडोर निर्माण सुरु गरिएको हो । ब्रह्मदेवबाट दार्चुलाको टिङ्कर हुँदै तिब्बत जोड्ने लक्ष्य राखिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.