नेकपा पोलिटब्युरो गठनको प्रस्ताव तयार पार्दै

मंसिर ५, काठमाडौं । नेकपाले पोलिटब्युरो गठनको तयारी थालेको छ। प्रदेश सदस्यको नाम चयन र केन्द्रीय सदस्यको कार्य विभाजन प्रस्ताव बनाउने जिम्मा पाएको कार्यदलले नै पोलिटब्युरोको प्रस्ताव समेत तयार पार्न थालेको छ।

आगामी पार्टी बैठकबाट पोलिटब्युरो गठन, केन्द्रीय सदस्यको कार्यविभाजन, प्रदेश कार्यसमितिको पूर्णतालगायत संगठनात्मक सबै काम छिनोफानो गर्नुपर्ने भएकाले कार्यदललाई नै पोलिटब्युरोको प्रस्ताव पनि तयार पार्ने जिम्मा दिइएको हो। नेकपा सचिवालय बैठक बिहीबार बस्ने तयारी हुँदैछ। ‘कार्यदलले पोलिटब्युरोको पनि प्रस्ताव तयार पार्छ’, स्थायी समिति सदस्य वेदुराम भुषालले भने। तर नेताहरूबाटै पोलिटब्युरो गठन नगरी केन्द्रीय सदस्यको कार्यविभाजन गर्दा प्रक्रिया उल्टो हुने धारणा सार्वजनिक हुन थालेपछि पोलिटब्युरोको प्रस्ताव बनाउने जिम्मा पनि कार्यदललाई दिइएको हो।

कार्यदलमा सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल छन्। ८ कात्तिकको सचिवालय बैठकले कार्यदल गठन गरेको थियो। पोलिटब्युरोको जिम्मेवारी थपिएपछि कार्यदलका दुई नेताले मंगलबार छलफल गरे। उनीहरू गृहमन्त्रीसमेत रहेका थापाको पुल्चोकस्थित मन्त्री निवासमा आन्तरिक तयारीका लागि गोप्य छलफलमा बसेका थिए। ‘कार्यदलको जिम्मेवारी अनुसारको काम गर्न अन्तिम तयारीमा बसिएको हो’, कार्यदल स्रोतले भन्यो, ‘बुधबार पनि बैठक बस्छ।’

नेकपाले विधानअनुसार ४ सय ४१ सदस्यीय केन्द्रीय समितिको एक तिहाइ अर्थात् १ सय ४७ सदस्यीय पोलिटब्युरो गठन गर्नुपर्नेछ। नेकपाले विधानअनुसार ४ सय ४१ सदस्यीय केन्द्रीय समितिको एक तिहाइ अर्थात् १ सय ४७ सदस्यीय पोलिटब्युरो गठन गर्नुपर्नेछ। पोलिटब्युरो गठन गर्दा नेकपाका पूर्वघटक पार्टीबीच भागबन्डा भइसकेको छैन। ‘पोलिटब्युरोमा पूर्वघटक पार्टीका के कति संख्यामा नेताहरू रहने गरी बनाउने भागबन्डा भने टुंगिसकेको छैन’, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।

स्रोतका अनुसार १ सय ४७ सदस्यीय पोलिटब्युरोमा पूर्वमाओवादीले ६२ देखि ६५ सम्म र एमालेबाट ८२ देखि ८५ संख्यामा पर्ने गरी भागबन्डाको तयारी हुँदैछ। तर पूर्वमाओवादी घटकले भने ६८ माओवादी र ७९ एमालेलाई हुने गरी भागबन्डा गर्न सकिने अनौपचारिक प्रस्ताव गरेको छ। ‘केन्द्रीय समिति ५५ र ४५ प्रतिशतका आधारमा भागबन्डा लगाइएकाले पोलिटब्युरो पनि सोही आधारमा भागबन्डा गरी गठन हुन सक्छ’, स्थायी समिति सदस्य भुषालले भने। अन्नपूर्णपोष्टबाट

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.