मंसिर ३, काठमाडौं । यसै महिनाको अन्तिम साता सुरु हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ ।
कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा हुने प्रतियोगिताको पहिलो दिन मंसिर २२ गते विराटनगर वारियर्स र ललितपुर प्याट्रियोट्सले प्रतिस्पर्धा गर्नेछन् । ६ फ्रेन्चाइज टिमको सहभागिता रहने प्रतियोगिताको फाइनल पुस ७ गते हुने आयोजक एभरेष्ट प्रिमियर लिगले जनाएको छ । ट्वान्टी–२० स्वरुपमा हुने प्रतियोगितामा सबै सहभागीले एक–अर्कासँग राउन्ड रोबिन पद्दतिअनुसार प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली अघिल्लो चरणलाई छानिन्छन् । तेस्रो र चौथो हुने टोली इलिमिनेटरका लागि छानिँदा पहिलो र दोस्रो हुने टिमले पहिलो क्वालिफायर खेल्नेछन् ।
पहिलो क्वालिफायरको विजेता सोझै फाइनल पुग्नेछ भने पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ । दोस्रो क्वालिफायरको अर्को प्रतिद्वन्द्वी इलिमिनेटरको विजेता हुनेछ ।

