मंसिर ३, काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संगठन नेपाल विद्यार्थी संघको म्याद दुईमहिना थप गरेको छ ।
आइतबार बसेको केन्द्रीय समितिको बैठकले दुईमहिना म्याद थप गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । तर असन्तुष्ट पक्षले नेतृत्ले महासमितिमा हुने आलोचना छल्नका लागि मात्रै महाधिवेशनको समय दुईमहिना थप गरेको जनाएको छ । केन्द्रीय समितिमा भएको प्रस्तुत विधान बहुमतले पारित गरिएको थियो ।
नेविसंघको म्याद राति १२ बजेपछि सकिँदै थियो । बैठकमा नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसीलगायतका नेताको असहमति रहेको थियो । नेता पौडेलले वर्तमान नेतृत्व विघटन गरेर तदर्थ समिति बनाउनुपर्ने बताएका थिए भने सिटौलाले महाधिवेशन गराउने नै हो भने ६ महिना म्याद थप गर्नुपर्ने जनाएका थिए । असन्तुष्ट पक्षले अहिले नै नेविसंघ विघटन गर्दा आसन्न महासमिति बैठकमा नेतृत्वले आलोचना खेप्नुपर्ने भएकाले अहिले विघटन नगरेर समय थप गरेको आरोप लगाएको छ ।

