पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकाको जन्म

मंसिर ३, सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कालीकोटकी एक महिलाले पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकाको जन्म दिएकी छन् । रास्कोट नगरपालिका– ५ कालीकोटका २८ वर्षीय ललिता बुढाले आइतबार दिउँसो ३स्१५ बजे जुम्ल्याहा बालिकाको जन्म दिएकी हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काजमा खटिएका डा राजीव शाह नेतृत्वमा डा रवीन खातुङ, डा महेश पौडेल, शल्यक्रिया कक्षमा रहेकी नर्स विनिता बस्यालसहितको चिकित्सकको संयुक्त प्रयासबाट शल्यक्रिया गरेर जुम्ल्याहा बालिकाको जन्म दिइएको हो । उनीहरुको अवस्था सामान्य रहे पनि खतरामुक्त गर्न एनआइसियुमा राखिएको डा। राजीवले जानकारी दिए । उनका अनुसार आमाको अवस्था सामान्य छ । जुम्ल्याहा बालिकाको कलेजोको भाग टाँसिएको र मुटु पनि जोडिएको हुनसक्ने उनले बताए । “पेटदेखि छातीसम्मको शरीर जोडिएको शिशु जन्मनु पश्चिम नेपालमा असाधारण र दुर्लभ घटना हो”, डा शाहले भने, “एमआरआइ वा भिडियो एक्स–रे गरेर उनीहरुको थप शल्यक्रिया गर्नु पर्दछ ।” यद्यपि उनीहरुको शल्यक्रिया सफल हुनसक्ने उनको भनाइ थियो ।

ललिताका पति विर्खबहादुर बुढाले उनलाई चार दिनसम्म कालीकोट अस्पतालमा राखेका थिए । कालीकोट अस्पतालले पठाएपछि उनले शनिबार बेलुका प्रदेश अस्पताल सुर्खेतमा ल्याए । बुढाले सात दिनसम्म बेथाले च्यापेकी श्रीमती र बच्चा सकुशल देख्न पाउँदा खुशी लागेको बताए । उनले शल्यक्रिया गरेर पत्नी ललिता र जुम्ल्याहा बालिका बचाउन सहयोग गर्ने चिकित्सकको टोलीलाई धन्यवाद दिए । “एकातिर खुशी छु तर अर्कोतिर आजदेखि चिन्ता पनि थपिएको छ”, बुढाले भने, बालिकाको जीवन बचाइदिन उनले सरकारसँग सहयोगको याचना गरे ।–रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.