बिहे गर्ने उमेर नपुग्दै गर्भपतन : कानुनलाई समेत चुनौती

कात्तिक ३०, काठमाडौं । मुलुकी संहिताले २० वर्ष भन्दा कम उमेरमा बिहे गर्न बन्देज लगाएको छ । १८ वर्ष भन्दा कम उमेरमा त सहमतिमा पनि यौनसम्पर्क गर्न नपाइने कानुनी व्यवस्था छ । तर १८ वर्ष भन्दा कम उमेरमै गर्भपतन सेवा लिने किशोरीको संख्या उल्लेख्य भएको पाइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांक अनुसार तीन वर्षमा पाँच हजार सात सय ४७ जनाले गर्भपतन गराएका छन् । ती मध्ये २० वर्ष भन्दा कम उमेरमै गर्भपतन गराउने २० प्रतिशत छन् । गर्भपतन सम्बन्धी अध्ययन गर्ने संस्था आइपासका अनुसार यस अवधिमा तीन सय ४० जना १८ वर्ष भन्दा कम उमेरका किशोरीले गर्भपतन गराएका छन् । आइपासका जिल्ला संयोजक केदार भण्डारीका अनुसार कम उमेरका किशोरीलाई गर्भपतन गर्न कानुनले रोक लगाएको छैन । ‘१८ वर्ष भन्दा १४ वर्षका किशोरीले पनि गर्भपतन सेवा लिएका छन्,’ भण्डारीले भने, ‘सुरक्षित मातृत्व तथा प्रजनन अधिकारमा कम उमेरमा गर्भपत गर्न नपाउने भन्ने छैन ।’

१८ वर्ष भन्दा कम उमेरकाको गर्भपतन गराउँदा सेवाप्रदायकले नजिकको नातेदारको मञ्जुरी लिनुपर्छ । मञ्जुरी दिने नातेदार नभए स्वास्थ्यकर्मीले सेवा लिन आउनको सर्वोत्तम हितलाई ध्यान दिएर सेवा दिन सक्ने व्यवस्था छ । कम उमेरमा नै गर्भपतन गराउनेले नातेदार लिएर जाँदैनन् । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक माधव श्रेष्ठले १८ वर्ष भन्दा कम उमेरको यौनसम्पर्क अपराध ठहर्ने बताए । तर कानुन बमोजिमको कारबाही गर्नका लागि भने प्रहरीमा उजुरी गर्नुपर्छ । इलाममा गाउँ–गाउँमा गर्भपतन सेवा विस्तार भएपछि सेवा लिनको संख्या भने तीव्र रूपमा वृद्धि भइरहेको छ । आर्थिक वर्ष ०७१÷७२ मा चार सय ४५ जनाले सेवा लिएका थिए । आर्थिक वर्ष ०७४÷७५ मा दुई हजार ६८ ले यो सेवा लिएको तथ्यांक छ । जिल्लाका १८ सरकारी स्वास्थ्य संस्थामा गर्भपतन सेवा छ ।– नयाँ पत्रिकाबाट

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.