कात्तिक २९, लन्डन । पूर्व स्ट्राइकर बेट्रान्ड ट्राओरेसहित १८ वर्षमुनिका विदेशी खेलाडी अनुबन्ध गरेको विषयमा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अनुसन्धान सुरु गरेपछि चेल्सीले दुई वर्षसम्म खेलाडी सरुवामा प्रतिबन्ध भोग्नुपर्ने खतरा बढेको छ ।
फुटबल लिक्सले जनाएअनुसार फ्रान्सेली वेभसाइट मिडियापार्टले तीन वर्ष लगाएर चेल्सीका १९ खेलाडी सम्झौतामाथि अध्ययन गरेको थियो । मिडियापार्टले तिमध्ये १४ खेलाडी १८ वर्षभन्दा कम उमेरमा चेल्सीसँग अनुबन्ध भएका थिए । चेल्सीले आफूमाथि भइरहेको अनुसन्धानमा फिफालाई पूर्ण रुपमा सहयोग गरिरहेको बताएको छ । फिफाको नियमअनुसार खेलाडी अनुबन्ध गरिएका सबै कागजात उपलब्ध गराएको बताउँदै क्लबले कुनै गलत काम नभएको दाबी गरेको छ । मिडियापार्टले भने फिफाको इन्टिग्रिटी एन्ड कम्प्लायन्स युनिटले चेल्सीलाई चार पटकको सरुवा बजारमा खेलाडी किनबेच गर्न नपाउने तथा ४५ हजार युरो जरिबाना गराउनुपर्ने सिफारिस गरेको जनाएको छ । गतवर्ष सेप्टेम्बरमा चेल्सीमाथि अनुसन्धान भइरहेको खबर सार्वजनिक भएको थियो । ‘अनुसन्धान जारी छ । आजको मितिसम्म फिफाको न्यायिक समितिले कुनै निर्णय लिएको छैन,’ विश्व फुटबलको सर्वोच्च निकायले विज्ञप्तिमा भनेको छ ।
हाल फ्रान्सेली लिग वानको क्लब लियोनबाट खेलिरहेका बुर्किनो फासोका अन्तर्राष्ट्रिय फरवार्ड ट्राओरेले २०१३ मा १८ वर्षको उमेरमा चेल्सीसँग पहिलो पटक व्यावसायिक सम्झौता गरेका थिए । तर उनलाई २०१४ को जनवरीसम्म दर्ता गरिएको थिएन । तर मिडियापार्टले भने मितिको विषयमा चेल्सीले सबैलाई झुक्याएको दाबी गरेको छ । ट्राओरेले फुटबल संघमा दर्ता हुनुअघि नै यु–१६ र यु–१८ टोलीबाट २५ खेल खेलेको भेटिएको पनि मिडियापार्टको दाबी छ । चेल्सीले ट्राओरेकी आमालाई १ लाख ५५ हजार युरो तथा उनी अध्यक्ष रहेको क्लब एजेई बोबो डियोउलासोलाई थप १३ हजार युरो २०११ मा दिएको स्विकारेको छ । १८ वर्ष मुनिका खेलाडीसँग तीन वर्ष सम्मकोमात्र सम्झौता गर्न पाउने नियम रहे पनि चेल्सीले ट्राउरेसँग साढे चार वर्षको सम्झौता गरेको पाइएको थियो । यस्तै घटनामा दोषी देखिएका कारण स्पेनिस ला लिगाका क्लबहरु सरुवा प्रतिबन्धमा परेका थिए । चेल्सीलाई पनि प्रतिबन्ध लागे नियम मिचेवापत खेलाडी भित्र्याउन नपाउने चेल्सी अर्को ठूलो क्लब बन्नेछ । दुई वर्षअघि एट्लेटिको मड्रिड र रियाल मड्रिडले यस्तै नियम मिचेका कारण खेलाडी सरुवामा प्रतिबन्ध भोगेका थिए भने २०१४ मा बार्सिलोनाले पनि १८ वर्ष मुनिका अन्तर्राष्ट्रिय खेलाडी अनुबन्ध गरेका कारण १४ महिनाको प्रतिबन्ध सामना गरेको थियो ।
मानव तस्करीको सम्भावनालाई न्युनिकरण गर्न फिफाले १८ वर्षमुनिका खेलाडीलाई विदेशी क्लबसँग सम्झौता गर्न प्रतिबन्ध लगाएको छ । तथापि खेलाडीका आमा–बाबु फुटबलवाहेक अन्य कारणले नयाँ देश बसाई सरेको र त्यही ठाउँको क्लब भएमा भने १८ वर्ष उमेर नपुगे पनि अनुबन्ध गर्न पाइन्छ । त्यस्तै दुवै क्बल युरोपियन युनियन वा युरोपियन व्यापार क्षेत्रभित्रको भएमा र खेलाडीको उमेर १६ देखि १८ वर्षको भएमा किन्ने क्लबले खेलाडीको शिक्षा, अभ्यास, जीवनयापन र अन्य विषयको ग्यारेन्टी लिए युवा खेलाडी अनुबन्ध गर्न सक्ने व्यवस्था छ । यसैगरी फरक देशको खेलाडी अनुबन्ध गर्न क्लब र खेलाडीको वासस्थानको दुरी १ सय किलोमिटरभन्दा कम हुनु पर्नेछ ।

