कात्तिक २९, काठमाडौं । नेपालबाट अमेरिकामा पढ्न जाने विद्यार्थीको संख्या विगत वर्षहरुमा भन्दा बढेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।
इन्टरनेसनल एजुकेसनल एक्सचेन्ज (आईई) र अमेरिकी विदेश मन्त्रालयको शिक्षा र संस्कृति सम्बन्धी व्यूरोले तयार पारी सार्वजनिक गरिएको सन् २०१८को ओपन डुअर्स रिपोर्टमा अमेरिकामा पढिरहेका विद्यार्थीको संख्या विगत वर्षहरुको तुलनामा १४ दशमलव ३ प्रतिशतले बढेको जनाइएको छ ।
यो अवस्थाले गर्दा विद्यार्थी पठाउने २५ राष्ट्र मध्ये नेपाल सबैभन्दा माथि परेको जनाइएको छ । अहिले त्यहाँ नेपाली विद्यार्थीको संख्या १३ हजार २७० रहेको जनाइएको छ । अन्डरग्राजुएट विद्यार्थी मध्ये विश्वका २५ मुलुक मध्ये नेपाल १० औं स्थानमा रहेको छ । यसैगरी अमेरिकी विद्यार्थी नेपालमा पढ्ने क्रम पनि बढेको अमेरिकी दूतावासले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यसपटक नेपालमा आएर पढ्ने विद्यार्थीको संख्या ५७ प्रतिशतले बढेको छ ।

