परराष्ट्र मन्त्री ज्ञवाली जापान जाँदै

कात्तिक २८, काठमाडौं । परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले जापानको औपचारिक भ्रमण गर्ने भएका छन् ।

जापानी समकक्षीको निमन्त्रणामा उनले मंसिर १ देखि ५ गतेसम्म जापानको भ्रमण गर्ने भएका हुन् । त्यसको लागि उनी शुक्रबार त्यसतर्फ लाग्ने र फर्कदा थाईल्याण्ड हुँदै नेपाल आउने कार्यक्रम जनाइएको छ । “जापान लामो समयदेखि घनिष्ट र मैत्रिपूर्ण सम्बन्ध भएको देश हो । हाम्रो प्रमुख विकास साझेदार र सुख दुःखको साथी पनि हो,” परराष्ट्र मन्त्री ज्ञवालीले आफ्नो हुन लागेको जापान भ्रमणबारे भने, “भ्रमणका बेला सहयोगका नयाँ क्षेत्रको पहिचान गर्नेछौं ।”

जापान भ्रमणका बेला नेपालमा बढीभन्दा बढी लगानी कसरी भित्र्याउन सकिन्छ भन्ने विषयमा छलफल गरिने उनले जनाए । परराष्ट्र मन्त्री ज्ञवालीले थपे, “नेपालमा ठूला पूर्वाधारहरु सडक, रेलवे, जलविद्युत, कृषिको आधुनिकीकरणमा जापनको सहयोगको अपेक्षा गरेका छौं ।” भ्रमणका बेला जापानी समकक्षिसँग हुने द्विपक्षिय बैठकमा जापानमा नेपाली कामदारको लागि श्रम बजारको खोजीलाई पनि उच्च प्राथमिकताका साथ उठाइने उनले बताए । “जापानको बजारमा नेपाली श्रम बजार खुला गर्न सक्छौं भन्ने हाम्रो सोच छ,” उनले भने ।

कृषि उत्पादन प्रशोधन सम्बन्धी केही परियोजनाहरु नेपालमा ल्याउन सकिने विश्वास परराष्ट्र मन्त्री ज्ञवालीले व्यक्त गरे । उनले जापानबाट फर्कँदा थाइल्याण्डको पनि भ्रमण गर्ने जनाए । थाइल्याण्डस्थित नेपाली दूतावासको निरीक्षण र केही कार्यक्रममा सहभागी हुने उनले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.