कात्तिक २५, बारा । दुर्तमार्ग निर्माणका क्रममा बारा, मकवानपुरलगायतका जिल्लामा काटिएका काठ राज्यले समयमै व्यवस्थापन नगर्दा कुहिन थालेको छ । सेनाले काठमाडौं–निजगढ दु्रतमार्गमा काटेका काठ त्यतिकै कुहिएर जान थालेको हो । समयमै कटान गरिएका काठ सम्बन्धित निकायले लिलाम प्रक्रियामा नलैजाँदा काठ कुहिन थालेका हुन् । राष्ट्रिय वन र ४ वटा सामुदायिक वन समितिअन्तर्गतका काठ आपसी तालमेल नभई प्रक्रियामा जान नसक्दा लिलाम प्रक्रिया अवरुद्ध बनेको हो ।
सेनाले दु्रतमार्गको ट्रयाक खोल्ने क्रममा काटिएका काठ १० महिनाअघि नै सम्बन्धित सामुदायिक वन र तात्कालीन जिल्ला वन कार्यालयलाई बुझाइसकेको छ । सम्बन्धित निकायका मन्त्रालय, विभाग र डिभिजन वन कार्यालयले लिलाम बिक्रीको आदेशमा ढिलासुस्ती गर्दा बेवारिसे अवस्थामा काठ कुहिँदै गएको हो । सेनाले काटेर छुट्याएको ४० हजार सेप्टी गोलाइको लगत नराखेकै कारण काठ अलपत्र परेर कुहिन थालेका हुन् ।
सेनाले बाटोमा पर्ने रुख कटान गरेका सालबाहेक विभिन्न प्रजातिका चाँडो कुहिने काठ छन् । जिल्ला वनले सम्बन्धित निकायबाट निर्देशन र परामर्श लिने काम गरेको जानकारी दिँदै लगत पूर्णरूपमा नआई सकेकोले लिलाम गर्न नसकिएको जिल्ला वन कार्यालयका प्रमुख ज्ञानेन्द्रकुमार मिश्रले बताए । तीनवटा सामुदायिक वनले लगत पठाउने काम गरिसकेको समेत मिश्रले बताए । नेपाली सेनाले जिरो प्वाइन्टबाट १२ किलोमिटरसम्म रुख काटने काम सम्पन्न गरेको छ । सेनाले काटेका रुख सम्बन्धित सामुदायिक वन समूह, जिल्ला वन कार्यालयलाई जिम्मा लगाउने गरेको छ । काटेर घाटगद्दी गरेका रुखका चट्टा यतिबेला अधिकांश कुहिन थालेका छन् भने केही चट्टा कुहिएर बिक्री नहुने अवस्थामा पुगेको छ ।
जिल्ला वन कार्यालयका अनुसार नेपाली सेनाले रुख कटान गर्दा लागेको खर्च समयमै उपलब्ध नगराउँदा समेत ढिलो हुन गएको जनाएको छ । द्रुतमार्गबाट उत्पादन भएका काठ भूकम्पपीडितले माग गरेको खण्डमा ५० प्रतिशत पाउने कानुनी प्रावधान रहे पनि कतैबाट माग भएको छैन ।
सेनाले १० महिना अगाडि जिम्मा लगाएको काठ डिभिजन वन कार्यालयले प्रक्रियामा ढिलासुस्ती गर्दा एकातिर काठ कुहिँदै गएको छ भने अर्कोतिर उपभोक्तालाई अत्यावश्यक काठ पनि दिन नपाएको बकैया नागमणि सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रविराज दंगाले बताए । उनले आफू प्रक्रियाका लागि डिभिजन वनदेखि मन्त्रालयसम्म धाएको गुनासो गरे । काठ कुहिँदै जाँदा एकातिर राज्यले लाखौंको राजस्व गुमाउनु परेको छ भने अर्कातिर आमउपभोक्ता काठ नपाउँदा समस्यामा परेका छन् । कारोबार दैनिक

