काठमाडौंमा छठको रौनक

कात्तिक २५, काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा छठ मनाउन सरसफाइ एवं सजावट सहित तयारीका काम शुरु भएको छ ।

वाग्मती नदी किनारका विभिन्न स्थान र कमलपोखरीमा छठ मनाउने तयारी भएको हो । गुह्येश्वरी मन्दिर अघिको नदी किनारमा छठको विशेष सफाइका लागि वाग्मती सफाइ महाअभियानको २८७ औँ हप्ताको सफाइ गरिएको थियो । नदी किनारको थापाथली, नारायणटार र गोकर्ण क्षेत्रमा तयारी भइरहेको छ । यसैगरी कमलपोखरीमा पनि छठको तयारी शुरु भएको छ । दुई दशक अघिदेखि राजधानीमा छठको रौनक बढ्न थालेको छ । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा उपासना गरी मनाइने छठ पर्व आजदेखि शुरु भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आज स्नान गरी चोखो खाएर बसिन्छ । यसदिनबाट छठ पर्व नसकिएसम्म बर्तालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ ।

मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँ उपत्यका लगायत पहाडमा मनाउन थालिएको हो । विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा विशेष महत्वसाथ यो पर्व मनाउन थालियो । यसअघिदेखि नै वाग्मती र विष्णुमती नदीकिनारमा छठ मनाउने संस्कृति शुरु भएको थियो । कार्तिक शुक्ल पञ्चमीका दिनमा निर्जल उपवास बस्ने गरिन्छ । यस दिन बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक खाने गरिन्छ । यसलाई खरना भन्ने गरिएको काठमाडौँमा छठ मनाउँदै आउनुभएका श्याम शर्माले बताउनुभयो । “षष्ठीका दिन बर्तालुले ठेकुवा, फलफूल, मिठाइ र रोटी सूर्य एवं छठी मातालाई चढाउने गरिन्छ, रोटीमा सूर्यको रथका पाङ्ग्रा अङ्कित गरिन्छ”,उहाँले भन्नुभयो ।

यो पर्वमा मुस्लिम, बौद्ध र जैन धर्मावलम्वीको समेत सहभागिता रहने गरेको विसं २०६८ देखि कमलपोखरीमा छठ पूजाको नेतृत्व गर्दै आउनुभएका राजेन्द्र सिंहले बताउनुभयो । सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुसी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रोपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । पाण्डवहरू विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन शुरु गरिएको एकथरी मत छ । सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुवात भएको अर्काथरीको मत छ । दुई दशकअघिसम्म तराई क्षेत्रमा मात्र मनाइने छठ हाल राजधानी र पहाडी क्षेत्रको नदी, पोखरी एवं तालको किनारमा समेत विधिपूर्वक मनाउन थालिएको छ । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.