गण्डकीका १८ ठाउँ नयाँ पर्यटकीय गन्तव्य

कात्तिक २०, दमौली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि गण्डकी प्रदेशको १८ ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यस्थलका रुपमा छनोट गरेको छ।

मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिश भएको र आवेदन परेको आधारमा गण्डकी प्रदेशका ती ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा पहिचान गरेको हो। मन्त्रालयका अनुसार गोरखाको चुम्नुर्बी गाउँपालिकाको चुमभ्याली, लमजुङको काउलेपानी, तनहुँको कालिका शहीद तथा शान्ति पार्क र सिद्धगुफा भिमाद, कास्कीको मौजा होमस्टे, सिक्लेश पर्यटकीय क्षेत्र, मनाङको नार्फू ट्रेयल, मुस्ताङको लोमान्थाङ दरबार गुफा क्षेत्र, पर्वतको दुर्लुङ्ग क्यानोनिङ्ग (छाँगावरोहण) , केभिङ्ग र होमस्टे तथा महाशिला नयाँ पर्यटकीय गन्तव्यका रुपमा छनोट भएका हुन्।

त्यसैगरी स्याङ्जाको सतौ – चण्डिकालिका क्षेत्र, आलमदेवी, बागलुङको भकुण्डे भैरवस्थान गाजाको दह, ढोरपाटन आरक्ष क्षेत्र, नवलपरासी पूर्वको दाउन्नेदेवी, म्याग्दीको घोरेपानी पर्यटकीय क्षेत्र र रघुगङ्गा रुइसे डाँडादेखि धवलागिरि आइसफलसम्मको पदमार्ग नयाँ पर्यटकीय गन्तव्यका रुपमा छनोट गरिएको छ। मन्त्रालयका सह–सचिव एवं प्रवक्ता घनश्याम उपाध्यायले पर्यटन क्षेत्रको विकास तथा सोबाट प्राप्त लाभ जनस्तरमा पुर्याउन पर्यटकीय गन्तव्यको विविधीकरण गर्दै नयाँ पर्यटकीयस्थल र उपजको पहिचान, विकास तथा पर्यटकीय पूर्वाधारको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारका रुपमा विकास गर्न जरुरी रहेको बताए।

सरकारले चालू आव २०७५÷७६ को बजेट वक्तव्यमार्फत नेपालको पर्यटन प्रवद्र्धनका लागि नयाँ गन्तव्य पहिचान तथा विकास गर्ने घोषणासहित बजेट विनियोजन गरेको थियो। मन्त्रालयका अनुसार नयाँ पर्यटकीय गन्तव्यका लागि ६०० भन्दा बढीको आवेदन परेको थियो। मन्त्रालयले देशभर एक सय नयाँ गन्तव्य पहिचान गरेको हो । नयाँ गन्तव्य छनोटका लागि मन्त्रालयले पाँच आधार तय गर्दै भदौमा सूचना प्रकाशन गरेको थियो। निजी क्षेत्रको सहकार्यमा गन्तव्य स्थानको विकास गरिनेछ। नयाँ एक सय गन्तव्य छनोटले सन् २०२० मा मनाउन लागिएको नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई सहयोग पुग्नेछ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.