कात्तिक १९ , गुल्मी । जिल्लाको मदाने गाउँपालिका–६ पुर्कोटदहस्थित पनाह खोला निवासी ३३ वर्षीय दुर्गा बहादुर नेपालीले ३६ वर्षीया श्रीमती सीता नेपालीको विभत्स हत्या गरेका छन् ।
गत कार्तिक १५ गते राती छिमेकी राजकुमार थापाको खाली घरमा सुतिरहेको अवस्थामा दुर्गाले पत्नी सीताको हत्या गरेका हुन् । मदिरा सेवन गरी राती आएका नेपालीले सीतालाई चरम यातना दिएर हत्या गरेको खुलेको छ । ईलाका प्रहरी कार्यालय पुर्कोटदहबाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक दिपक कुमार बस्नेतको नेतृत्वमा खटिएको संयुक्त टोलीले अभियुक्त नेपालीलाई पक्राउ गरेको छ ।
अभियुक्त नेपालीले प्रहरीसमक्ष यातना दिएर हत्या गरेको स्वीकार गरेका छन् । आमाको हत्या भएपछि बाबु प्रहरी हिरासतमा छन् भने चार जना छोराछोरी अविभावक विहीन बनेका छन् । उनीहरुको बिचल्ली भएको छ । अभियुक्त नेपालीका ३ छोरा र १ छोरी छन् । जेठो छोरा विपिन, माईलो छोरा विकास, छोरी विपना र डेढ वर्षीय छोरा विक्रम नेपाली सहारा बिहीन बनेका हुन् ।

