रगतमा बढाइएको मूल्य तत्कालै फिर्ता लिन निर्देशन

कात्तिक १९, काठमाडौं । सरकारले नेपाल रेडक्रस सोसाइटीलाई रगतमा बढाइएको मूल्य तत्कालै फिर्ता लिन निर्देशन दिएको छ।

टेकुस्थित राष्ट्रिय रक्तसञ्चार ब्यूरोले रेडक्रसको केन्द्रिय रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) लाई पत्र पठाउँदै मूल्य बढाउने निर्णय फिर्ता लिन निर्देशन दिएको हो। ब्लड बैंकले ब्युरोको निर्देशन भन्दै झुटो विवरण पेश गरी आफूखुसी प्रति युनिट रगतमा एक सय रुपैयाँ बढाएको थियो। बैंकले कात्तिक १५ गतेबाट लागू हुने गरी रिफ्रेसमेन्ट र अन्य खर्च व्यवस्थाको लागि भन्दै मूल्य बढाएको थियो।

रगतको मूल्य बढाउने तथा अन्य नीतिगत निर्णय गर्ने अधिकार राष्ट्रिय रक्तसञ्चार ब्युरोलाई रहन्छ। तर, ब्युरोले हालसम्म त्यस्तो कुनै निर्णय गरेको छैन। ब्युरोले गर्दै नगरेको निर्णयलाई ब्लड बैंकले ब्युरोको निर्णय भन्दै झुटो विवरण पेश गरेको विषयमा पनि ब्युरोले ब्लड बैंकसँग स्पष्टीकरण मागेको छ। ब्युरोका प्रमुख डा हरिषचन्द्र उप्रेतीले ब्लड बैंकलाई चौबिस घन्ट स्पष्टीकरण सोधिएको बताए। ‘रगतको मुल्य बढाउने विषयमा कुनै पनि निर्णय भएको छैन,’ उनले भने, ‘तर ब्लड बैंकले ब्युरोको निर्णय भन्दै सूचना निकालेको भेटेपछि उक्त विषयमा स्पष्टीकरण माग गरिएको हो।’

नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले झुटो विवरण दिएर बिरामीमाथि लुट्न खोज्ने ब्लड बैंकलाई कारवाही गर्नुपर्ने माग गरे। उनले १५ गते यता ब्लड बैंकले उठाएको रकम समेत फिर्ता गर्नुपर्ने बताए। ब्लड बैंकमा रगत लिन जाँदा बिरामीका आफन्तले प्रति युनिट सरकारी अस्पतालका लागि भए ५ सय २५ रुपैयाँ र निजी अस्पतालका लागि भए ६ सय ७५ रुपैयाँ तिर्नुपर्छ। ब्लड बैंकले १५ गतेपछि भने यी दुवै अस्पतालका लागि लिँदै आएको रकममा एक सय रुपैयाँ बढी लिन थालेको थियो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.