प्रकोपबाट ६ महिनामा साढे २ अर्बभन्दा बढीको क्षति, २ सय ७५ जनाको मृत्यु

कात्तिक १४, काठमाडौं । विभिन्न प्रकारका प्रकोपका घटनाबाट पछिल्लो ६ महिनामा राष्ट्रले साढे २ अर्ब रुपैयाँभन्दा बढीको क्षति व्यहोर्नु परेको पाइएको छ । २०७५ वैशाख १ गते असोज मसान्तसम्म विभिन्न प्रकोपका घटनामा २ सय ७५ जनाले ज्यान गुमाएका छन् ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको एक रिपोर्टअनुसार पछिल्लो ६ महिनामा देशमा कूल १ हजार ९ सय ६४ वटा बिभिन्न प्रकोपका घटना भएका थिए । यी घटनामा परी १ सय ५२ पुरुष र १ सय २३ महिलाको मृत्यु भएको छ । यस्तै, प्रकोपका घटनाले गत वैशाख देखि असोजसम्म कूल २ अर्ब ६१ करोड ६३ लाख ५८ हजार ४ सय ९३ रुपैयाँ बराबरको क्षति गरेको केन्द्रको आँकलन छ । प्रकोपका घटनामा परी पछिल्लो ६ महिनामा एक जना महिला सहित ७ जना अझै वेपत्ता अवस्थामा छन् । यी घटनामा पुरुष १ हजार ५ सय ७९ र महिला ९ सय १२ गरी कूल २ हजार ४ सय ९१ जना घाईते भएका थिए । यो अवधिमा प्रकोपका घटनाबाट ५ हजार १ सय ७९ परिवार प्रभावित भएको र २ हजार २ सय ८० चौपाया मारिएको जनाइएको छ । प्रकोपका घटनाले १ हजार १ सय ७८ घरमा पूर्ण क्षति पुर्‍याएको थियो भने १ हजार ५ सय ५५ घरमा आंशिक क्षति गरेको रिपोर्टमा जनाइएको छ ।

रिपोर्टमा नेपालको प्रकोपमा सबैभन्दा बढि आगलागीका घटना हुने देखाएको छ । पछिल्लो ६ महिनामा ८ सय १४ वटा आगलागी सम्बन्धि घटना भएको र त्यसबाट देशले २ अर्ब ३४ करोड ५९ लाख ५२ हजार ८ सय ८५ रुपैयाँ क्षति व्यहोर्नु परेको छ । आगलागीपछि नेपालमा पहिरो, भारी वर्षा, हावाहुरी, चट्याङ, बाढी, जंगली जनावरको आक्रमण लगायतका घटना बढि हुने र तीनले बढि क्षति पुर्याएको रिपोर्टले देखाएको छ । रिपोर्टअनुसार गत वैशाख १ देखि असोज मसान्तसम्म ३ सय १४ वटा पहिरो, २ सय ४७ वटा भारी वर्षा, १ सय ८३ वटा हावाहुरी, १ सय ७१ वटा चट्याङ, ८० वटा बाढी, ६५ वटा जंगली जनावरको आक्रमणका घटना भएका थिए । यो अवधिमा पहिरोले १३ करोड ५ लाख १९ हजार रुपैयाँ बराबरको क्षति गरेको रिपोर्टमा उल्लेख छ ।

यस्तै, पछिल्लो ६ महिनामा बाढीले ३ करोड ४५ लाख ३० हजार ९ सय रुपैयाँ, भारी वर्षाले ६ करोड २१ लाख ४५ हजार ६ सय ६० रुपैयाँ, हावाहुरीले ३ करोड ६२ लाख १६ हजार ९ सय ९८ रुपैयाँ, चट्याङले ४५ लाख ५७ हजार रुपैयाँ, असिनापानीले ४ लाख ५७ हजार रुपैयाँ, जंगली जनावरको आतंकबाट १२ लाख २१ हजार १ सय ५० रुपैयाँ बराबरको क्षति पुर्‍याएको रिपोर्टमा औंल्याइएको छ । रिपोर्टका अनुसार ६ महिनाको अवधिमा सबैभन्दा बढी मानीसको मृत्यु पहिरोमा परी भएको देखिन्छ । यो अवधिमा पहिरोमा परी ८४ जनाले ज्यान गुमाएका छन् । त्यसपछि मृत्यु हुनेको ठूलो संख्या चट्याङमा पर्नेको छ । चट्याङ लागेर वैशाख देखि असोज मसान्तसम्मको अवधिमा ४५ जनाको मृत्यु भएको छ । यो अवधिमा डुंगा पल्टिँदा १४, आगलागीमा परी १४, बाढिमा डुबेर १७, भारी वर्षाको कारण १७, हावाहुरीका कारण १४, हिमपातमा परी १०, लेक लागेर १६, जंगली जनावरको आक्रमणमा परी १२, सर्पको टोकाईबाट १४ र अन्य कारण १८ जनाको मृत्यु भएको रिपोर्टले देखाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.