कात्तिक २१, काठमाडौं । मुलुकको केन्द्रीय बैंकले ४ अर्ब रुपैयाँबराबरको ‘ट्रेजरी बिल’ बिक्री गर्ने भएको छ । यस्तो ट्रेजरी बिल भोलि मंगलबार जारी हुनेछ । नेपाल राष्ट्र बैंकका अनुसार ट्रेजरी बिल खरिद गर्नका लागि आज सोमबार ३ बजेसम्म अनलाइन बोलकबोलमा सहभागी हुने समय दिइएको थियो ।
राष्ट्र बैंकले ९१ दिन अवधिका लागि २ अर्ब र ३ सय ६४ दिनका लागि २ अर्ब रुपैयाँ गरी कूल ४ अर्बबराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । ९१ दिने ट्रेजरी बिल आगामी माघ १५ गते परिपक्व हुने छ भने ३ सय ६४ दिने ट्रेजरी बिल २०७६ कात्तिक १२ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ । यसअघि भएको अनलाइन बोलकबोलमा ५ अर्ब ५० करोडको ९१ दिने ट्रेजरी बिलमा १२ अर्ब ६८ करोड, १ सय ८२ दिने ५ अर्बको ट्रेजरी बिलमा ७ अर्ब ८९ करोड र ३ सय ६४ दिन अवधिको २ अर्बबराबरको ट्रेजरी बिलमा ६ अर्ब ४९ करोड रुपैयाँको बिड परेको थियो ।

