नेपाली महिला राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कंदै

कात्तिक १२, काठमाडौं । एएफसी यु–१९ च्याम्पियनसिपमा दोस्रोचरणका लागि छनोट भएको नेपालको महिला राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कंदैछ ।

थाइल्याण्डमा भएको छनोट प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली आज साँझ नेपाल आइपुग्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । थाइल्याण्डमा सम्पन्न प्रतियोगितामा नेपालले दुई खेलमा जीत निकाल्दै दोस्रो चरणका लागि छनोट भएको थियो । नेपाल समूह चरणको पहिलो खेलमा थाइल्याण्डसँग पराजित भए पनि पछिल्ला दुई खेलमा पाकिस्तान र भारतलाई पराजित गर्दै दोस्रो चरणमा पुगेको हो । च्याम्पियनसिपको छनोट खेलमा सहभागिता जनाउन नेपाली यु–१९ महिला फुटबल टोली यही कात्तिक ५ गते त्यसतर्फ प्रस्थान गरेको हो ।

नेपाली टोलीमा गोलकिपर अञ्जना रानामगर, उषा नाथ, कविता राई, डिफेण्डर निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फर्सवान, पूजा रानामगर, मिडफिल्डर सरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुसुवार, सिर्जनासिंह ठकुरी, सम्झना लावती, स्ट्राइकरमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा, सम्झना शर्मा, मुख्य प्रशिक्षकमा हरिओम श्रेष्ठ, सहायक प्रशिक्षकमा प्रकाश वैद्य र गोलकिपर प्रशिक्षकमा अस्मिता खवास रहेका छन् ।

आगामी चैतमा हुने दोस्रो चरणको छनोट खेलबाट चार टोली एएफसी यु–१९ महिला च्याम्पियनसीपमा छनोट हुनेछन् । एएफसी यु–१९ महिला च्याम्पियनसीप अर्को वर्ष थाइल्याण्डमै आयोजना हुनेछ । च्याम्पियनसीपका लागि चीन, जापान र उत्तर कोरिया यसअघि नै छनोट भइसकेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.