कात्तिक १२, काठमाडौं । छातीमा संक्रमण देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । सोमबार बिहान अस्पताल भर्ना भएका ओलीको छातीमा संक्रमण देखिएको अस्पतालले विज्ञप्ति जारी गर्दै जनाएको छ ।
ओलीको शरीरमा चिनीको मात्रा पनि असन्तुलित भएको विज्ञप्तिमा उल्लेख छ । उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र आत्तिनुपर्ने अवस्था नरहेको प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाका नेता माधवकुमार नेपाल पनि त्रिवि शिक्षण अस्पताल पुगेका छन् । उनले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । अस्पतालले बिहान साढे ४ बजे महारागञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको र अन्य स्वास्थ्य सामान्य रहेको पनि विज्ञप्तीमा जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन्। नेकपा महासचिव बिष्णु पौडेल र उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल पनि प्रधानमन्त्रीलाई भेटेर फर्किसकेका छन् भने पूर्वप्रधानमन्त्री झलनाथ खनाल र गृहमन्त्री रामबहादुर थापा अहिले अस्पताल परिसरमै छन्। अहिले अस्पताल परिसरमा नेकपा नेतारकार्यकर्ता र शुभेच्छुकको भीड लागेको छ।

