कात्तिक ११, महोत्तरी । गौशाला नगरपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि उपचारका लागि गएकाहरू रित्तै फर्किन थालेका छन् ।
यहाँका सरकारी स्वास्थ्य केन्द्रहरूमा सरकारद्वारा निःशुल्क रुपमा उपलब्ध गराइने औषधिहरु नहुँदा उपचार गराउन जाने बिरामीहरू मार्कामा परेका हुन् । यहाँका स्वास्थ्य केन्द्रमा औषधि नभएपछि उपचारका लागि आउने बिरामीबाट गाली खानुपरेको निगौल स्वास्थ्य चौकीका इञ्चार्ज अर्जुनबहादुर बोहराको गुनासो थियो । उनन्चालिस किसिमका औषधि एक हप्तादेखि अभाव भएकाले सम्बन्धित निकायमा जानकारी गराइसकेको उहाँले बताउनुभयो । दैनिक २० जनाको हराहारीमा उपचारका लागि आउने बिरामीलाई अहिले निजी क्लिनिकमा गएर उपचार गराउनुपर्ने बाध्यता रहेको इञ्चार्ज बोहराले बताउनुभयो । स्वास्थ्य चौकीमा शौचालय र खोनपानीकै सुविधा नहुँदा सेवाग्राहीलाई झनै अपठेरो पनि हुँदै आएको छ ।
त्यस्तै नगरपालिकाकै सबैभन्दा ठूलो स्वास्थ्य संस्थाका रुपमा परिचित रहेको गौशाला प्राथमिक स्वास्थ्य चौकीमा पनि सिटामोल अभाव छ । चिकित्सक मनोज साहका अनुसार निःशुल्क रुपमा ५८ प्रकारका औषधि उपलब्ध गराउने स्वास्थ्य संस्थामा सिटामोलसमेत नपाएपछि बिरामी आक्रोशित हुँदै आएका र बीमा गराएकाहरु समेत खाली हात फर्किनुपरेको छ । स्वास्थ्य चौकीमा एक्स–रेको अभाव भएको र एम्बुलेन्ससमेत पुरानो भएकाले नगरप्रमुखलाई समेत जानकारी गराइसक्दा पनि कतैबाट सुनवाई हुन नसकेको उहाँको भनाइ थियो । वडा नं १ मा रहेको रामनगर स्वास्थ्य चौकीमा पनि औषधि अभाब भएको जनाइएको छ । जनस्वास्थ्य सहसंयोजक अशोककुमार महतोले यहाँका छ स्वास्थ्यचौकी र एक प्राथमिक स्वास्थ्यचौकीमा औषधि अभाब भएको नगरपालिकामा जानकारी गराइसकेको बताउनुभयो ।
एक महीनाअगाडि नै १५ लाख बराबरको बजेट औषधि खरीदका लागि बजेट उपलब्ध गराइए पनि प्राविधिक कारणले ठेक्का प्रक्रिया अगाडि बढाउन नसकिएको उहाँले जानकारी दिनुभयो । यहाँको स्वास्थ्य स्थितिबारे प्रदेशसभासदस्य भरत साह, प्रतिनिधिसभासदस्य दिलकुमारी साह, नगरप्रमुख शिवनाथ महतोलाई समेत आफूले बारम्बार अवगत गराइसकेको तर कुनै किसिमको सुनवाइ हुन नसकेको सहसंयोजक महतोले बताउनुभयो । बाह्र वटा वडा रहेको उक्त नगरपालिकामा छ स्वास्थ्य चौकी र एक प्राथामिक स्वास्थ्य केन्द्र छन् ।

