कात्तिक ९, पर्वत । हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ र कोरल्ला घुम्न जाने पर्यटकका कारण पर्वत सदरमुकाम कुशमाबजारका होटल भरिभराऊ हुन थालेका छन् ।
दसैंको टीका लगत्तै उपल्लो मुस्ताङको भ्रमण गर्न जानेयाम सुरु भएपछि दैनिकजसो पर्यटकले होटल भरिन थालेको सञ्चालकहरूको भनाइ छ । आन्तरिकसँगै भारतीय पर्यटकको घुइँचो लाग्न थालेको छ । विश्वप्रख्यात ट्राभल गाइड लोन्ली प्लानेटले उपल्लो मुस्ताङलाई विश्वकै १० उत्कृष्ट गन्तव्यमध्ये तेस्रो स्थानमा सूचीकृत गरेपछि पर्यटकको चहलपहल पछिल्ला केही वर्षयता बढ्न थालेको हो । वर्षात् सकिएसँंगै मुस्ताङ घुम्ने पर्यटकका कारण कुश्माका होटल भरिभराऊ छन् । धौलागिरि क्षेत्रको प्रवेशद्वार मानिएको कुश्मा बजारमा मुस्ताङ जाने र फर्कने पर्यटकको संख्यामा वृद्धि भएको छ ।
कुश्माबजारमा रहेका होटल बन्दना, बेञ्जु, गोल्डेन, सिर्जना, मुस्ताङ गेष्ट हाउस, होटल नासा र थकालीलगायतका होटलमा दसैं सुरु भएसँगै पर्यटक भरिन थालेका छन् । होटल बन्दनाका सञ्चालक कृष्णप्रसाद श्रेष्ठका अनुसार दैनिक दुई सयभन्दा बढीको संख्यामा पर्यटक आउन थालेका छन् । दैनिजसो पोखरा, काठमाडौं, नारायणगढदेखि आउने पर्यटकहरूमध्ये अधिकांशको पहिलो दिनको बसाईका लागि कुश्माबजार हुने गरेको छ । त्यस्तै कतिपय फर्किने बेला कुश्माबजारका होटलमा बस्ने गरी फर्किने गरेको पनि श्रेष्ठले बताए । मुस्ताङ पुगेपछि उपल्लो मुस्ताङ जाने पर्यटकको संख्यामा पनि पछिल्लो समय वृद्धि भएको छ । मुस्ताङ जानका लागि म्याग्दीबाट कच्ची सडक प्रयोग गर्नुपर्छ । मौसम सुरु भएसँगै दैनिक मोटरसाइकलमा मात्रै सयौंको संख्यामा पर्यटक मुस्ताङ घुम्नका लागि जान थालेका पर्वतका ट्राफिक प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए । उहाँका अनुसार शनिबार मात्रै बस, मोटरसाइकल र जिप गरी झन्डै ५ सयको संख्यामा मुस्ताङतर्फ गएका छन् ।
मुस्ताङबाट फर्केपछि पर्वतमा रहेका नेपालकै अग्लो तीनवटा पुल र गुफा अवलोकनका लागि कुश्मामा झर्ने गरेका होटल बेञ्जुका सञ्चालक विषमकुमार श्रेष्ठ बताउँछन् । विदेशी पर्यटकको पहिलो रोजाइमा पर्ने मुस्ताङ आजभोलि स्वदेशी पर्यटकको समेत रोजाइमा पर्न थालेको छ । मुस्ताङ घुम्ने आन्तरिक र बाह्य पर्यटकको संख्यामा ह्वात्तै वृद्धि भएको छ । मुस्ताङका कारण छिमेकी जिल्ला बागलुङ, पर्वत जस्ता नजिकका जिल्लाका पर्यटकिय स्थलहरूको समेत प्रवद्र्धन भएको श्रेष्ठले बताए । उपल्लो मुस्ताङमा प्राचिनकालमा निर्माण गरिएका गुम्बा, काँचो माटोबाट निर्मित घर, दरबार र घरका रूपमा प्रयोग भएका गुफा मुस्ताङको आकर्षण हो । कला र हिमाली संस्कृतिको अध्ययन तथा अनुसन्धानका लागि पनि सो क्षेत्र महत्वपूर्ण मानिन्छ ।
पछिल्लो समय पर्यटकको वृद्धिसँगै कुश्माबजारमा ठूला लगानीका होटलहरू समेत संचालनमा आएका छन् । धेरैको संख्यामा खान बस्न मिल्ने खालका होटलहरू बनेपछि मुस्ताङबाट सिधै पोखरा फर्किने वा अन्यत्रबाट सिधै मुस्ताङ जाने पर्यटकहरू कुश्माबाजरमा बास बस्ने गरी आउन थालेको होटल सञ्चालकहरूको भनाइ छ ।

