चिनियाँ कलाकारले बनाए प्रधानमन्त्री आेलीको मूर्ति

कात्तिक ८, काठमाडौं । चीनको हुवेई चाङजियाङ पब्लिशिङ एण्ड मेडिया ग्रुप कं लिद्वारा आयोजित कला प्रदर्शनी बिहीबारदेखि काठमाडौँको दरबार मार्गमा शुरु भएको छ।

प्रदर्शनीको उद्घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालमा हाल स्थिरता र शान्तिको अवस्था आएकाले नेपालले चीनसँत पनि कला तथा संस्कृतिको आदानप्रदान गर्न चाहेको बताए। उनले दुई देशबीच सम्पर्क सञ्जालको विकासले आपसमा आर्थिक क्रियाकलापसमेत बढ्न गई दुवै देश लाभान्वित हुने बताए।

नेपाल पर्यटन बोर्डका निर्देशक दिवाकर राणाले नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्दै गएको र यस वर्ष सेप्टेम्बरसम्ममा ९६ हजार चिनियाँले नेपाल भ्रमण गरिसकेको जानकारी दिए। कार्यक्रममा चिनियाँ कलाकारहरुले चीनले आफ्ना छिमेकीसँग पनि सांस्कृतिक सम्बन्ध कायम गर्ने सिलसिलामा कलाकारको टोली नेपाल भ्रमणमा आएको बताएका थिए। उनीहरुले चिनियाँ राष्ट्रपतिको एक क्षेत्र एक मार्ग अवधारणाअनुसार संस्कृति, व्यापार तथा कलाले विश्वलाई जोड्ने अवधारणाअनुसार आफूहरु यहाँ आइपुगेको बताए।

 

तीन दिनसम्म चल्ने प्रदर्शनीमा चिनियाँ कलाकारहरुद्वारा ‘क्यालिग्राफी’, प्लादो मोडेलिङ, चिनियाँ सेरामिक तथा कागज कलाका विभिन्न किसिमका नमूना राखिएका छन्। कार्यक्रम हुवेई चाङजियाङ पब्लिशिङ एण्ड मेडिया ग्रुप कम्पनी लिमिटेडको आयोजना तथा हुवेई चाङजियाङ चोङवेन इन्टरनेशनल कल्चरल एक्सचेञ्ज कम्पनीको सहआयोजनामा भएको थियो।

कार्यक्रममा चिनियाँ कलाकारले प्रधानमन्त्री ओलीको प्रतिरुप भएको कलाको नमूना कुलपति उप्रेतीलाई हस्तान्तरण गरेका थिए। जिङचु कल्चर टुर अफ् साउथ एशियाअन्तर्गत चिनियाँ कलाकारहरु सियाओ लङ काई, जोङजिन काओ, किमिन चेन, केली कङलगायत हाल नेपालको भ्रमणमा छन्। रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.