कुखुरापालनमा एक करोड दश लाख लगानी

कात्तिक ८, दमौली । तनहुँ ब्यास नगरपालिका–५ चापाघाट निवासी हिमाल श्रेष्ठले रु एक करोड दश लाख लगानीमा कुखुरापालन व्यवसाय गरेका छन् ।

विसं २०६९ देखि कुखुरापालन शुरु गरेका उनले हाल दुई वटा फार्ममा छ हजार ५०० वटा कुखुरा पालेका छन् । उक्त फार्मबाट हाल दैनिक एक हजार छ सय वटा अण्डा बिक्री हुन्छ । प्रारम्भिक चरणमा एक हजार छ सय कुखुराका चल्ला पालेर व्यवसाय थाल्दा श्रेष्ठले रु १७ लाख लगानी गरेका थिए । अहिले लगानी रु एक करोड दश लाख पुगेको छ । “अहिले अण्डा उत्पादन गर्ने कुखुरा बढी उमेरको भएको कारण उत्पादन कम छ,” उनले भने, “बढी अण्डा उत्पादन हुँदा आम्दानी दैनिक रु २५ हजारसम्म पुग्छ ।” एउटै कुखुराले २४ महिनासम्म अण्डा उत्पादन गरेकाले अहिले उत्पादन कम भएको भन्दै श्रेष्ठले अब नयाँ चल्ला थप्ने योजनामा रहेको बताए ।

तनहुँ अण्डा व्यवसायी सङ्घका अध्यक्षसमेत रहेका उनले हाल दमौलीमा मात्रै दैनिक ६५ हजार अण्डाको माग रहेको बताए । जिल्लाभर सात लाख अण्डा उत्पादन गर्ने कुखुरा छन् । तनहुँमै उत्पादित अण्डाले जिल्लाको माग धानिरहेको बताइएको छ ।  फार्मभित्र राखिएको १५७ वटा डालोबाट दैनिक तीन पटकसम्म अण्डा सङ्कलन गरिन्छ । बाहिरको हल्लाले कुखुरा तर्सिने भएकाले फार्मभित्र भजनसहितको सङ्गीत बजाइने गरिएको छ । २०५९ सालमा दुबई पुगेका उनले १० वर्षसम्म त्यहाँ काम गरे । त्यहाँ कमाई पनि राम्रो थियो तर पैसाले मात्र उनलाई आत्मसन्तुष्टि दिलाएन बरु आफ्नै देशमा फर्केर केही गरौँ भन्ने इच्छा जाग्यो । नेपाल फर्केको तीनरचार महिनासम्म त्यत्तिकै बसेका उनले चितवनमा घुम्न जाँदा साथीहरुले कुखुरापालन गरेको देखेर व्यवसाय थालेका थिए ।

श्रेष्ठले २०५६ सालमा सोही ठाउँमा ग्रिनस्टार बोर्डिङ स्कूल स्थापना गरेका थिए । विद्यालयमा कक्षा ७ सम्मको पढाइ हुन्थ्यो । सशस्त्र द्वन्द्वका कारण त्यसबेला स्कूल बन्द भएकोले रोजगारीका लागि दुबई पुगेका उनले स्ट्याण्डर्ड चार्टड बैंकमा क्यासियर पदमा जागिर खाए । मासिक तलब दुई लाख थियो । त्यहाँ रहँदा राम्रै पैसा कमाए र स्वदेशमै फर्केर केही गरौँ भन्ने सोच पनि । “जुन आनन्द विदेशमा थियो त्योभन्दा बढी सन्तुष्टि अहिले यहाँ मिलेको छ,” उनले भने “परिवारसँगै मिलेर व्यवसाय गर्न पाउँदा त्योभन्दा धेरै सन्तुष्टि अन्त गएर गर्दा हुने रहेनछ ।” श्रेष्ठ दैनिक १५ घण्टा कुखुरा फार्ममा बिताउँछन् । कामदार भएपनि बिहान ६ देखि राति ९ बजेसम्म कुखुराको स्याहारसुसारका लागि समय छुट्याउने गरेको उनले बताए । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.