छठसम्म संविधान संशोधन नभए सरकारको समर्थन फिर्ता लिनेः सांसद चौधरी

कात्तिक ४, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालकी महामन्त्री एवम् सांसद चन्दा चौधरीले छठसम्म पनि संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पार्टीले निर्णय गर्ने स्पष्ट पारिन् । शनिबार राजधानीमा भएको एक साक्षात्कारमा बोल्दै उनले भनिन्, ‘छठपछि पार्टीको केही न केही निर्णय हुन्छ । पार्टीको निर्णयपछि हामी सरकारलाई समर्थन दिईराख्ने नै हो भन्ने छैन । समर्थन फिर्ता लिनपनि सकिन्छ । हाम्रा मागहरुपनि छन्, यदि ती पूरा भएनन् भने हामी छठपछि अर्को निर्णय लिन्छौं ।’

संविधानलाई लिएर एउटै देशमा कतै दिपावली र कतै कालो दिवस मनाउँदा मुलुक समृद्ध हुन नसक्ने उनको ठोकुवा छ । उनले भनिन्,‘ संविधानमा अहिले पनि हाम्रो असहमति छ । संविधान संशोधनको लागि मधेशमा विद्रोह भयो । जनसंख्याको आधारमा निर्वाचन क्षेत्र हुनुपर्छ । एउटै देशमा संविधान दिवसको दिनमा कतै दिपावली मनाउने र कतै कालो दिवस मनाईएको छ । यसले प्रधानमन्त्रीको समृद्ध नेपाल र सुखी नेपाली भन्ने उद्देश्य पनि पूरा हुँदैन् । मुलुकको विकासको लागि सबैलाई समेट्नुपर्छ ।’ मधेश आन्दोलनका क्रममा सहिद भएका, घाईते, अपांग भएकाहरुलाई अहिलेसम्म पनि सरकारले केही नगरेको उनले गुनासो पोखिन् । उनले भनिन्,‘ आन्दोलनको क्रममा सयौं हाम्रा नेता तथा कार्यकर्ताहरुलाई झुठा मुद्दा लगाईएको छ । अहिलेसम्म खारेजी गरिएको छैन् । सरकारसँग हामीले बारम्बार यही कुरा उठाउँदै आएका छौं । संविधान संशोधन गर्न र झुठा मुद्दा फिर्तालगायत अन्य मागहरु पूरा गराउनको लागि सरकारलाई समर्थन दिएका हौं । र, जुन अहिलेपनि जारी छ ।’ उनले बहुमत प्राप्त सरकार भएकोले उसले गरेका निर्णयहरु आफूहरुलाई मान्य भएको सुनाईन् । यद्धपी उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार हैकमीवादी रुपमा अगाडि बढेको पनि आरोप लगाईन् । उनले भनिन्,‘विद्येयक ल्याउँदापनि नामको लागि छलफल गरियो, तर बहुमतको दम्भका आधारमा पारित गरियो ।’

२ नम्बर प्रदेश अहिलेपनि गरिबीको रेखामुनी रहेको सुनाउँदै उनले भनिन्,‘२ नम्बर प्रदेश अहिलेपनि गरिबीको रेखामुनी छ । जनसंख्याको आधारमा बजेटको वर्गीकरण गरियोस भन्यौं तर त्यो पनि भएन । विगतमा जे हुन्थ्यो त्यही भयो ।’ त्यस्तै उनले मुलुकमा पछिल्लो समय दिनहुँ महिला हिंसा, हत्या र बलात्कारजस्तो सामाजिक अपराधका घट्नाहरु बढिरहेको भन्दै चिन्ता व्यक्त गरिन् । उनले भनिन्,‘सरकारले अहिलेसम्म बलात्कारीजस्ता अपराधीहरुलाई पत्ता लगाउन सकेको छैन् । ठूलाबडाको मान्छेहरु बचाउने, संरक्षण गर्ने काम भएकोे अहिलेसम्म हिंसामा संलग्न व्यक्तिहरु सार्वजनिक हुन सकेका छैनन् । यसमा गृह मन्त्रालयको असफलता छ । प्रधानमन्त्रीजस्तो मान्छे संयुक्त राष्ट्रसंघमा गएर बलात्कारपछि हत्यामा संलग्न अपराधीलाई पत्ता लगाउन १२ वर्षपनि लाग्न सक्छ भन्नुभयो । १२ वर्ष किन लाग्छ रु हामी १२ दिनमा खोजौं न । यसरी हेर्दा सरकारले यसमा विशेष ध्यान दिएको छैनजस्तो मलाई लागेको छ ।’ सरकार कुनैपनि हालतमा सफल नभएको उनको दाबी छ । उनले भनिन्,‘अहिले कुनै चिजको निश्कर्ष सकारात्मक आएको छैन् । सरकार अहिले बहुमतले सफल छ । तर, काम र परिणामको हिसाबले पूर्ण असफल देखिरहेको छ । सरकारको गतिवधि र कामहरु हेर्दा असफलताको दिशातर्फ उन्मुख छ ।’

देशमा अहिले मधेशको मुद्दामात्रै नभएर आम जनतापनि सुरक्षित नरहेको उनले गुनासो पोखिन् । उनले भनिन्,‘आम जनतापनि अहिले सुरक्षित छैनन् । सुरक्षा निकाय कमजोर भैरहेको छ। महिला तथा युवतीहरु सुरक्षित छैनन् । मुलुकमा रोजगारी छैन । अहिलेसम्म बृद्धबृद्धाहरुलाई केही राहत भएन् । भक्ता पनि बढाईएन् । सहायतापनि दिईएन् । एसिड प्रहार गरेर महिलाहरु मारिएका छन, त्यहाँ क्षतिपूर्ति पुगेको छैन् ।’ बलात्कारीहरुलाई संविधान संशोधन गरेर भएपनि फाँसी दिनुपर्ने उनले माग गरिन् । उनले भनिन्,‘बलात्कारीलाई फाँसीको सजाय दिनेगरि कानून बनाउनुपर्छ । आजिबन कारागारलेमात्रै हुँदैन् । पछि आममाफी भैहाल्छ । पछि गएर ठूलाबडाको छोरा होला । कोही एसपी नै होला । कोही डिएसपी नै होला । कोही आईजीपी नै होला। कोही मन्त्री नै होला । त्यो छुट्छ । त्यही भएर म भन्छु बलात्कारीलाई फाँसीकै सजाय हुनुपर्छ । मृत्युदण्डको सजाय नै दिनुपर्छ । बलात्कारीलाई फाँसी दिईयो भने यस्ता घट्नाहरु कम हुन्छन् ।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.